काठमाडौँ । परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाले कांग्रेस-एमालेको वर्तमान सरकार ०८४ सम्मै रहने बताएकी छिन्।

बिहीबार बिहानै धनगढीको आफ्नै निवासमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री देउवाले विशेष परिस्थितिका कारण दुई पार्टी एक ठाउँमा आएको समेत उल्लेख गरेका छन् ।

‘देशको संकट टार्न तथा विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न कांगेस एमाले एक ठाउँमा आएका हुन्, मन्त्री देउवाले भनिन्, विशेष विशेष परिस्थितिमा कांग्रेस-एमाले एक ठाउँमा आएको इतिहास छ।” दुई ठुला पार्टी मिलेर वर्षौँदेखि थाँती रहेको टी आरसी अघि बढेको उनले बताइन्।

अन्तर्राष्ट्रिय समुदाय नेपाललाई सहयोग गर्न सकारात्मक रहेको र नेपालप्रति राम्रो धारणा रहेको बताउँदै उनले संविधान संशोधन गर्नु पनि अहिलेको सरकारको उद्देश्य रहेको बताइन्। एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले हालै महिला प्रधानमन्त्री बनाउने इच्छा रहेको टिप्पणीप्रति उनले कांग्रेसभित्र आफ्नो हैसियत के हो भन्ने राम्ररी जानकार रहेको प्रतिक्रिया दिँदै आफू प्रधानमन्त्री हुने सम्भावना नरहेको बताइन्।