काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगीका आरोपीहरूविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) लाई पत्राचार गरेको छ ।
रेड नोटिस जारी गर्न भनिएका आरोपीहरूमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ पनि छिन् । यो सहकारी ठगीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।
रेड नोटिस जारी गर्नका लागि पत्राचार गरिएका आरोपीहरूमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङ र मितेरी सहकारीकै ज्योतिबहादुर भण्डारी छन् । ठगी भएको समयमा ज्योति गुरुङ सहकारीमा प्रबन्ध निर्देशक थिइन् । उनले भण्डारीसँग मिलेर बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।
मितेरी सहकारीबाट बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना भएको अनुसन्धानमा देखिएको छ। ज्योतिसँग धनराजले २०७६ फागुनमा सम्बन्धबिच्छेद गरिसकेको बताएका छन् । धनराजकी पूर्वश्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीमा कार्यरत थिइन् ।
२०७५ सालमा उनलाई सहकारी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । सोही क्रममा उनले रकम अपचलन गरेको सञ्चालक समितिका सदस्यहरुको दाबी छ । धनराज स्वयंले पनि सहकारीबाट ऋण लिएको स्वीकारी सकेका थिए । सहकारी छानबिन संसदीय विशेष समितिले सहकारी रकम अपचलनमा मुछिएका नेपाली कांग्रेसका नेता धनराज गुरुङसँग पनि बयान लिएको थियो।







