काठमाडौँ। घरजग्गा कारोबारमा सुधार आएको छ । पछिल्लो दुई वर्षको मंसिरको तुलनामा चालु आर्थिक वर्षको मंसिरमा घरजग्गा कारोबारमा सुधार देखिएको छ । त्यसको साथै गत कार्तिक महिनाको तुलनामा समेत मंसिरमा घरजग्गाको कारोबारमा प्रगति देखिएको छ ।
चालु आर्थिक वर्षको सुरुवातदेखि नै निरन्तर सुस्ताएको घरजग्गा कारोबार मंसिरमा भने प्रगति देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार मंसिर महिनामा देशभर ४३ हजार ३७९ वटा घरजग्गा कारोबार भएका छन् । यो गत वर्षको सोही महिनाको तुलनामा ३.६५ प्रतिशत बढी हो। गत वर्ष मंसिरमा देशभर ४१ हजार ८५१ वटा घरजग्गा किनबेच भएको थियो ।
चालु आवको पहिलो अर्थात् साउन महिनामा ४३ हजार ८३५ वटा घरजग्गा किनबेच भएको थियो। विभागका अनुसार गत असोज महिनामा ३० हजार ५२७ वटा, भदौमा ३२ हजार ७९८ वटा घरजग्गाको लिखत पारित भएका थिए। गत कात्तिकको तुलनामा भने कारोबार २९.४३ प्रतिशत बढेको देखिन्छ । गत कात्तिकमा देशभर ३३ हजार ५१४ वटा घरजग्गा खरिदबिक्री भएको थियो ।
कारोबार बढेसँगै राजश्वमा बढोत्तरी देखिएको छ। गत वर्षको मंसिरको तुलनामा राजश्व ३५.२४ प्रतिशत वृद्धि भएको छ। मंसिरमा देशभरको घरजग्गा कारोबारबाट कुल ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत वर्षको मंसिरमा राजश्व २ अर्ब ८६ करोड ५०० लाख ११ हजार रुपैयाँ संकलन भएको थियो ।
मंसिर महिनामा रजिष्ट्रेशन दस्तुर बापत २ अर्ब ६३ करोड ७८ लाख १२ हजार रुपैयाँ, पुँजीगत १ अर्ब ३१ करोड ६३ लाख ४३ हजार र सेवा कर मार्फत २६ करोड ६ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको हो । मंसिरमा सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय इनरुवामार्फत १ हजार ५५३ वटा घरजग्गा किनबेच भएको छ ।
विभागका अनुसार बोलवारी मोरङमा पनि १ हजार ४४२ वटा, भद्रपुर झापामा १ हजार ३९८ वटा, धनगढी कैलालीमा १ हजार २२८ र जनकपुरधाम धनुषामा १ हजार १३७ वटा घरजग्गा लिखत पारित भएको छ ।
साथै, राजविराज सप्तरी ९४१ वटा, मलंगवा सर्लाहीमा ९३९, भक्तपुरमा ८८८, नेपालगञ्ज बाँकेमा ८८८, कोहलपुरमा ८८२, दाङ तुलसीपुरमा ८८०, कपिलवस्तुमा ८४८, लगनखेल ललितपुरमा ८३९, विराटनगर मोरङमा ८२३ र सिराहा ८१९ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।
यता, रुपन्देहीमा ७८६, काभ्रेपलान्चोकमा ७६२, दमक झापामा ७६१, घोराही दाङमा ७५५, चितवनमा ७४७, पर्सामा ७०६, नवलपरासीमा ६८१, कलैया बारामा ६३१, लाहान सिराहामा ६१०, टिकापुर कैलालीमा ६०१, जलेश्वर महोत्तरीमा ५९१, मकवानपुरमा ५९०, कास्कीमा ५८१, बर्दिया ५७५, कलंकी काठमाडौँ ५६२, सुर्खेतमा ५३५, महेन्द्रनगर कञ्चनपुरमा ५३१ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।
राजश्व कहाँ कति ?
मंसिर महिनामा सबैभन्दा धेरै चितवन मालपोत कार्यालयबाट संकलन भएको छ । उक्त कार्यालयबाट मैसिरमा मात्रै ३५ करोड ९८ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यता कलंकी काठमाडौंबाट पनि २६ करोड ५७ लाख २५ हजार, चावहिलबाट २२ करोड ५८ लाख २३ हजार, भक्तपुरबाट २२ करोड २७ लाख ९० हजार, डिल्लीबजारबाट १९ करोड ९६ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
साथै, विराटनगर मोरङको १० करोड ४९ लाख १० हजार, काभ्रेपलाञ्चोकबाट ९ करोड ८७ लाख ६० हजार, इनरुवा ९ करोड ७६ लाख, धनगढी कैलालीबाट ८ करोड ५९ लाख, रुपन्देही बुटवलबाट ७ करोड ९० लाख साँखु काठमाडौंबाट ७ करोड ५० लाख, मनमैजुबाट ७ करोड २६ लाख र टोखाबाट ७ करोड १२ लाख रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।







