काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूले शेयर धनीलाई अब २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने भएका छन्। यसअघि १५ प्रतिशतको सीमा रहेकोमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको निर्देशनअनुसार उक्त सीमा फराकिलो बनाइएको हो।

राष्ट्र बैंकका अनुसार लाभांश वितरण निष्क्रिय कर्जाको अनुपातमा भर पर्नेछ। निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तहरूले २५ प्रतिशतसम्म लाभांश दिन सक्नेछन्। ५ देखि १० प्रतिशतसम्म निष्क्रिय कर्जा हुनेले २० प्रतिशतसम्म लाभांश वितरण गर्न पाउनेछन्।

१० देखि १५ प्रतिशत निष्क्रिय कर्जा हुने लघुवित्तहरूले १५ प्रतिशतसम्म मात्र लाभांश वितरण गर्न सक्नेछन्। १५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा भएका लघुवित्तहरूले भने लाभांश वितरण गर्न नपाउनेछन्।

लाभांश वितरण गर्न पूँजीकोष अनुपात कम्तीमा ९ प्रतिशत कायम गरिएको हुनुपर्नेछ। तोकिएको चुक्ता पुँजी नपुगेका लघुवित्तहरूले कर प्रयोजनबाहेक नगद लाभांश दिन नपाउने भए पनि बोनस सेयर भने वितरण गर्न सक्नेछन्।

यसअघि १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न चाहने लघुवित्तहरूले प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा र त्यसपछि १५ प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने बाध्यता थियो।