काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कर्मचारी युनियनले हालै बैंकका कर्मचारीमाथि भएको हिंसात्मक र निन्दनीय घटनाप्रति गम्भीर ध्यानाकर्षणा भएको जनाएको छ । युनियनले घटनाको निन्दा गर्दै कर्मचारीको सुरक्षा र पेशागत मर्यादाको तत्काल सुनिश्चितता गर्न राज्यसँग माग गरेको हो।

कर्जा असुल्ने क्रममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घोराही शाखाका कर्मचारीमाथि भएको अमानवीय कुटपिट, धम्कीपूर्ण अभिव्यक्ति र सामाजिक सञ्जालमा गरिएका अमर्यादित टिप्पणीहरूलाई लिएर कर्मचारी युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाउदै खेद व्यक्त गरेको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमाथि आक्रमण हुने क्रम रोकिएको छैन। यसअघि कर्जा असुलीका क्रममा ज्योति विकास बैंकका कर्मचारीमाथि पनि आक्रमण भएको थियो।

बैंकिङ क्षेत्रमा त्रास : कर्मचारीमाथि आक्रमण, सरकार मौन

सबै शाखाका चाबी राष्ट्र बैंक र अर्थ मन्त्रालयमा बुझाउने चेतावनी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कर्मचारी युनियनले नेपाल राष्ट्र बैंकका गर्भनरलाई पठाएको पत्रमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले सामना गरिरहेको चुनौती र कठिन परिस्थितिका बावजुद बैंकले जनताको ४.९७ खर्ब निक्षेप सुरक्षित गर्दै करिब ३.४ खर्ब कर्जा लगानी गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको स्मरण गराएको छ।

युनियनले यस कार्यमा कर्मचारीहरूले अहोरात्र खटेर गरेको योगदानको स्मरण गराउदै उनीहरूको सुरक्षा र पेशागत मर्यादा सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिएको छ।

पत्रमा भनिएको छ, घोराही शाखामा कर्जा असुल्ने क्रममा बैंक कर्मचारीमाथि भएको निर्दय कुटपिट, धम्कीपूर्ण अभिव्यक्ति र सामाजिक सञ्जालमा आएका अमर्यादित टिप्पणीहरूलाई युनियनले खेद व्यक्त गरेको छ। युनियनले कानुन विपरीतको गतिविधि गर्ने व्यक्तिहरूलाई पहिचान गरी कठोर कारबाही गर्न र कर्मचारीमाथि हुने दबाब रोक्न राज्यसँग आग्रह गरेको छ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कर्मचारी युनियन अध्यक्ष शिवहरी भण्डारीले राज्य र नियामक निकायहरूले कर्मचारीको सुरक्षा सुनिश्चित नगरेमा युनियनले सम्पूर्ण शाखाका चाबीहरू नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयमा बुझाउने तथा धर्नामा बस्ने चेतावनी दिएका छन्।

युनियनले बैंक कर्मचारीको जीवन, पेशागत मर्यादा र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराएको छ।