काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल–अमेरिका व्यापार असन्तुलन झनै विग्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा नेपालले अमेरिकासँग ३ अर्ब ६८ करोड ८९ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ।

छ महिनाको अवधिमा नेपालले अमेरिकाबाट १३ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ बराबरको सामग्री आयात गरेको छ भने नेपालबाट अमेरिकातर्फ ९ अर्ब ७६ करोड ३ लाख रुपैयाँको सामग्री निर्यात भएको छ। आयातको तुलनामा निर्यात कमजोर रहँदा नेपाल–अमेरिका व्यापार घाटा उल्लेख्य रूपमा बढेको हो।

आयाततर्फ हेर्दा, समीक्षा अवधिमा अमेरिकाबाट सबैभन्दा धेरै हवाईजहाजका सामग्री तथा पाटपुर्जा आयात भएको छ। यसको आयात मूल्य ३ अर्ब ११ करोड ६८ लाख रुपैयाँ रहेको छ। त्यसैगरी १ अर्ब ४० करोड २२ लाख रुपैयाँको कोइला र १ अर्ब ४ करोड ४८ लाख रुपैयाँको भटमास आयात गरिएको छ। यस्तै तेल, बदाम, कम्प्युटर तथा आर्मीका हातहतियारसम्बन्धी सामग्री पनि उल्लेख्य परिमाणमा आयात भएको भन्सार विभागले जनाएको छ।

निर्याततर्फ भने नेपालबाट अमेरिकामा सीमित वस्तु मात्रै पठाइएका छन्। छ महिनामा नेपालबाट १ करोड ३१ लाख ६२ हजार रुपैयाँको चीज, १९ लाख ८३ हजार रुपैयाँको मासु, ११ लाख ३१ हजार रुपैयाँको माछा तथा ८९ लाख ९ हजार रुपैयाँ बराबरको मह निर्यात भएको तथ्यांकमा उल्लेख छ।

उच्च आयात र कमजोर निर्यातकै कारण अमेरिकासँग नेपालको व्यापार घाटा बढ्दो क्रममा रहेको जानकारहरुको भनाई छ। निर्यात विविधीकरण र मूल्य अभिवृद्धि गरिएका वस्तुको प्रवर्द्धन नगरेसम्म यस्तो असन्तुलन सुधार गर्न कठिन हुने उनीहरूको धारणा छ।