काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि पनि सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

नेपाल आयल निगमले गत चैत्र २ गतेदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। त्यसलगत्तै यातायात व्यवसायीहरूले वैज्ञानिक भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागमार्फत पहल थालेका थिए।

विभागले पनि भाडा समायोजन आवश्यक ठहर गर्दै मन्त्रालयमा सिफारिस पठाए पनि हालसम्म यस विषयमा कुनै निर्णय हुन सकेको छैन। विभागले गत चैत्र ५ गते वैज्ञानिक भाडा समायोजन विधिअनुसार प्रस्ताव मन्त्रालयमा पठाएको थियो।

उक्त प्रस्तावअनुसार २०७२ सालदेखि भाडादर समायोजन नभएको र विभिन्न १३ सूचकमा भएको मूल्यवृद्धिलाई आधार मान्दै सार्वजनिक सवारीतर्फ ११.३३ प्रतिशत, तराई क्षेत्रमा मालवाहकतर्फ ८.८१ प्रतिशत र पहाडी क्षेत्रमा १४.२९ प्रतिशतसम्म भाडा वृद्धि गर्न सिफारिस गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार इन्धन मूल्यवृद्धिपछि पनि भाडा समायोजन नहुँदा व्यवसायीहरूले दैनिक रूपमा लाखौं रुपैयाँ घाटा बेहोर्दै सेवा सञ्चालन गर्न बाध्य भएका छन्। विभागको सिफारिसमाथि मन्त्रालयले लामो समयसम्म निर्णय नगरेपछि महासंघका प्रतिनिधिहरूले मन्त्री चौलागाईसमक्ष प्रत्यक्ष रूपमा ध्यानाकर्षण गराएका हुन्।