काठमाडौँ। साताको पहिलो कारोबार दिनमै सेयर बजारमा पहिरो गएपछि लगानीकर्ता हतोत्साहित भएका छन्। आइतबार नेप्से परिसूचक १०५.५० अंकले ओरालो लागेर २६७६.६८ बिन्दुमा झरेको छ।

यसैबीच, बजारमा प्यानिक फैलिनुले लगानीकर्ताहरु आक्रोशित भएका छन्। ठूलो मात्रामा लगानीकर्ताले आफ्ना लगानीको मूल्य घट्दा मनोबल गुमाएका छन्। यस्तो अवस्था सिर्जना भएपछि बजार सुधारका लागि रणनीति बनाउने उद्देश्यले भेला भएका लगानीकर्तालाई सुरक्षाकर्मीले सिंहदरबारको दक्षिणी गेटमा ठेलमठेल गर्दै हटाएको छ।

सिंहदरबारको दक्षिणी गेटमा आइतबार ३ बजेपछि भेला हुँदै गरेका लगानीकर्ताहरुलाई सुरक्षाकर्मीले ठूलो संख्यामा त्यहाँ जम्मा हुन पाइन्न भन्दै ठेलमठेल गर्दै हटाएको थियो । त्यसपछि बजारका समस्या तत्काल समाधान हुनुपर्ने र लगानीकर्ताहरुलाई आश्वस्त पार्न सरकारले विशेष सम्बोधन गर्नुपर्ने मागसहित लगानीकर्ताहरु रास्वपा कार्यालय अगाडी धर्ना दिदैछन्।

लगानीकर्ता धर्नामा, यस्ता छन् माग

लगानीकर्ता तिलक कोइरालाले आर्थिक भ्वाइससँगको कुराकानीमा भने, “सिंहदरबारमा बस्न समेत दिइएको छैन। हामी शान्तिपूर्ण ढंगले हाम्रो माग राख्न चाहन्थ्यौं। अब हामी रास्वपाको पार्टी कार्यालयमा गएर अनशन थाल्ने तयारीमा छौँ। सरकार र अर्थमन्त्रीका कारण लगानीकर्ताको मनोबल कमजोर पार्‍यो।”

कोइरालाले सरकारले लगानीकर्ताका माग सुन्नुपर्ने बताए । लगानीकर्ताका मागहरु यस्ता छन् ।

लगानीकर्ताले सरकारसँग राखेका माग :

१. नेपाल स्टक एक्सचेन्जलाई पुनःसंरचना गर्न गठित समितिको सिफारिस बमोजिम पुनः संरचनाको स्पष्ट खाकासहित आवश्यक निर्णय गर्न अर्थ मन्त्रालयले १५ दिन भित्रमा मन्त्रिपरिषदमा प्रस्ताब लैजाने ।

२. विगतमा भएका सार्वजनिक निश्काशन ( प्रिआईपिओ समेत)हरूकाे छानविन गर्न, बेथिति हटाउन र दाेषीलाई कारबाही गर्न १५ दिन भित्र उच्चस्तरीय समिति गठन गर्ने र अब हुने सार्वजनिक निश्काशन साे समितिकाे सिफारिस अनुसार कार्यविधि निर्माण गरेर मात्र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति दिने ।

३. नेपाल धितोपत्र बोर्डको पुनः संरचना गर्न र धितोपत्र ऐन २०६३ माथि संशोधन गर्न अर्थ मन्त्रालयले १५ दिन भित्र कार्यदल गठन गर्ने ।

४. नेप्सेले पेश गरेको साना तथा मझौला कम्पनीहरुको कारोबार हुने एसएमई प्लेटफर्म सम्बन्धी नियमहरु नेपाल धितोपत्र बोर्डबाट तीन दिन भित्र स्वीकृत गरी १५ दिन भित्रमा एसएमई प्लेटफर्म संचालनमा ल्याउने ।

५.विदेशमा रहेका नेपाली र अन्य ब्यस्त पेशा ब्यवसायमा संलग्न लगानीकर्ताहरुले नेप्सेको नियमित कारोबार समयमा खरिद बिक्री आदेश राख्न नसक्ने समस्या समाधान गर्न नेप्सेले गरेको नीतिगत ब्यवस्थालाई नेपाल धितोपत्र बोर्डले तीन भित्र स्वीकृत गरी अफलाईन आदेश राख्नसक्ने ब्यवस्था तत्काल गर्ने ।

६. बाेनस र हकप्रदकाे मूल्य समायाेजन हुँदा नै साे बापत पछि प्राप्त हुने बाेनस वा हकप्रद सेयरकाे समायाेजित लागत मूल्य कायम हुने स्वचालित प्रणाली विकास गर्ने, लगानीकर्ताले आफ्नो युजरआईडी र पासवर्ड प्रयोग गरी कारोबार ब्यवस्थापन प्रणालीबाट आफैले गरेको सेयर बिक्रीको स्वतः ईडिआईएस हुने गरी धितोपत्र बोर्ड, नेप्से र सीडीएससीले आबश्यक ब्यवस्था मिलाई ५ दिन भित्र कार्यान्वयनमा ल्याउने ।

७. सेयर दलालमार्फत मार्जिन कारोबार ५ दिन भित्र शुरु गर्ने र मार्जिन कारोबार संचालनको स्वीकृति माग गर्ने दलालहरुलाई नेप्सेले तत्काल स्वीकृति दिने ।

८. लगानीकर्ताले धितोपत्र बोर्ड, नेप्से र सीडीएससीमा गरेको कुनै उजुरी वा गुनासोको तीन दिन भित्र सुनुवाई हुने वा नहुने कारण खोली जुन माध्यमबाट उजुरी वा गुनासो आएको हो, सोही माध्यमबाट सरोकारवालालाई जवाफ दिने गरी ५ दिन भित्र संयन्त्र बिकास गरेर कार्यान्वयनमा ल्याउने ।

९. हक भन्दा बढी हकप्रदमा आबेदन गर्न पाउने ब्यवस्था गरि नबिकेकाे सेयर लिलामको अनलाईन बिडिड. प्रणाली निमार्ण गरी ३० दिन भित्र सीडीएससीले कार्यान्वयनमा ल्याउने ।

१०. सूचीकृत संगठित संस्थाहरूकाे सुशासन सम्बन्धी निर्देशिका संशाेधन गरि हरेक कम्पनीमा २५ प्रतिशत संस्थापक हिस्सेदारी अनिवार्य गर्ने, साे नभएका कम्पनीहरूकाे हकमा नेपाल धिताेपत्र बाेर्डकाे राेष्टरमा सूचीकृत स्वतन्त्र संचालक बन्न याेग्य सूचीमा रहेका ब्यक्तिहरूबाट कम्तिमा ४ जना संचालक आगामी साधारणभाबाट नियुक्त गर्नुपर्ने ब्यवस्था गर्ने । कम्पनीहरुको साधारणसभा सभा भिडियो कन्फरेन्सको आधारमा समेत हुने, प्रस्ताबहरु पारित गर्ने र संचालक निर्वाचनका लागि अनलाईन भोटिड.का लागि नेपाल धितोपत्र बोर्ड र सीडीएससीले आबश्यक ब्यवस्था मिलाउने ।

११. धितोपत्र बोर्ड, नेप्से, बीमा प्रााधिकरण र सीडीएससीका संचालक तथा कर्मचारीहरुले आफ्नो सम्पति विवरण १५ दिन भित्र सम्बन्धित कार्यालय प्रमुख मार्फत अर्थ मन्त्रालयमा पठाउनु पर्ने ।

१२. गैर आवासीय नेपालीहरुले दोस्रो बजारमा लगानी गर्ने कार्यविधि नेपाल धितोपत्र बोर्डले १५ दिन भित्रमा तयार पारेर सम्बन्धित निकायहरुको समन्वयमा कार्यान्वयनमा ल्याउने ।

१३. सूचीकृत लगानी कम्पनीहरुलाई आफ्नो जम्मा पोर्टफोलियोको ५० प्रतिशत दोस्रो बजारमा मार्जिन कारोबार योग्य कम्पनीहरुको सेयरमा विविधिकरण गरि लगानी गर्नसक्ने गरी नेपाल धितोपत्र बोर्डले तत्काल कार्य क्षेत्र बिस्तार गर्ने ।

१४. सूचीकृत कम्पनीहरुले गत आर्थिक बर्षको बार्षिक साधारणसभा चालु आर्थिक बर्षको अन्त्यसम्म पनि नगरेको भए सम्बन्धित कम्पनीका संचालक र प्रमुख कार्यकारी अधिकृतलाई ब्यक्तिगत रुपमा ब्ययभार पर्ने गरी जनही एक लाख जरिवाना गर्ने र सो रकम लगानीकर्ता संरक्षण कोषमा दाखिल गर्न नेपाल धितोपत्र बोर्डले आबश्यक ब्यवस्था मिलाउने । १५. सार्वजनिक निश्काशन भएका धिताेपत्रहरूमा कर्नरिङ र विकृति हटाउन सामुहिक लगानी काेषहरूलाई लगाईएकाे छ महिने लक ईन अवधि तत्काल हटाउने । 

१६. तल्लाे निकायबाट प्रस्ताव भएका नीति, नियम, निर्देशिका, कार्यविधिहरू उपल्लाे निकायले सात दिन भित्र स्वीकृत गरि पठाउने । 

१७. बजारकाे स्वच्छतालाई अभिबृद्दि गर्न धिताेपत्र बाेर्डबाट परामर्श सेवा दिन अनुमति लिएकाले मात्र खरिद बिक्री र बजार सम्बन्धी परामर्श दिन पाउने, विभिन्न संचार माध्यम र सामाजिक संजालबाट समूह बनाई शुल्क लिएर वा नलिई सक्कली वा नक्कली नामबाट किनबेचकाे सल्लाह दिने, अफवाह फैलाउने, म्यानुपुलेशन गर्नेलाई कारबाही गर्ने । धिताेपत्र बाेर्ड र नेप्सेले आबश्यक ब्यवस्था गरि ३० दिन भित्र स्वचालित सर्भिलेन्स कार्यान्वयनमा ल्याउने यस्ताे ब्यवस्था बालेन सरकारले तत्काल गरेमा हामी आम लगानीकर्ताले घण्टीलाई झण्डै दुई तिहाई पुग्ने गरि दिएकाे मतादेशकाे सही सदुपयाेग हुनेछ

कोइरालाले थप स्पष्ट पार्दै भने, “पुँजी बजारको सुधार र लगानीकर्ताको मनोबल बढाउन तत्काल कदम उठाउन जरुरी छ। ढिला भए बजारमा असुरक्षा फैलिन्छ र ठूलो घाटा हुने सम्भावना छ। यसले केवल लगानीकर्तालाई मात्र होइन, सरकारको राजस्व र अर्थतन्त्रलाई समेत असर गर्छ।”

बाफिया संसोधन विधेयकमा बैंकर-व्यवसायी छुट्याउने विवाद, केही प्रावधानले पार्न सक्छ अप्ठ्यारो

उनले सरकारलाई तत्काल बजार सुधारका कदम चाल्न दबाब दिए। “हामी यहाँ बस्नेछौँ, अनशन सुरु गर्नेछौँ, र लगानीकर्ताका माग सरकार र सम्बन्धित निकायले सुन्न बाध्य पारिनेछ” उनले भने।

के होला बजारको आगामी स्थिति ?

यसैबीच अर्थविद् निरज गिरीले आर्थिक भ्वाइससँगको कुराकानीमा बजारमा आगामी केही दिनमा स्थिति सामान्य अवस्थामा आउने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, “हाल कुनै कम्पनीको प्रदर्शनमा प्रत्यक्ष असर आएको छैन। बजारमा आएको गिरावट मनोवैज्ञानिक छ, ठूला लगानीकर्ताले के होला भन्ने डरले गर्दा मूल्य ओरालो लागेको हो। आगामी तीन–चार दिनमा यो स्थिर हुने अपेक्षा छ। बजेट, मौद्रिक नीति र स्थिर सरकारले लगानीकर्ताको विश्वास पुनः स्थापित गर्नेछ। लगानीकर्ताले धैर्य राख्न र आफ्नो लगानी पोर्टफोलियो बलियो राख्नुपर्छ।”

उनका अनुसार बजारले छोटो अवधिमा सुधार गर्ने क्षमता राख्छ। प्यानिकको कारण घटेको बजार केही समयपछि स्थिर हुनेछ। लगानीकर्ताले अफवाह वा संवेदनशील समाचारमा नआत्तिनु आवश्यक छ। यदि लगानीकर्ताले धैर्यपूर्वक काम गर्छन् भने बजार पुनः स्थिर र मजबुत बन्नेछ।

हालको सेयर बजारको गिरावट मुख्यतः मनोवैज्ञानिक कारक र प्यानिकको परिणाम भएको देखिन्छ। लगानीकर्ताको दबाब र मागले सरकारले आवश्यक कदम चाल्न बाध्य पार्ने अपेक्षा छ। अहिलेको संकटको अवस्थामा सुधारका कदम चाल्नु आवश्यक देखिन्छ।