काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर–१० मा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूबाट ९५ हजार ५०० रुपैयाँ नगद, ५० थान क्यासिनो क्वाइन र १७ वटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, पोखरा महानगरपालिका–१३ काहुँखोलामा रहेको एक खाजाघरबाट पनि जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई नगद ७७ हजार १८० रुपैयाँ र ८९९ पत्ती ताससहित नियन्त्रणमा लिएको हो।
दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।







