काठमाडौँ । फेसबुक र इन्स्टाग्रामका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या करिब दुई करोडले घटेको छ । पछिल्लो समय फिडमा बढ्दो विज्ञापन, दोहोरिने सामग्री र सिफारिसमा आधारित पोस्टहरूको अत्यधिक उपस्थितिका कारण प्रयोगकर्ताहरू असन्तुष्ट बन्दै गएको बताइएको छ ।
प्रयोगकर्ताहरूको गुनासो बढेसँगै मेटाले आफ्ना प्लेटफर्महरूमा एल्गोरिदम परिवर्तन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले अब फेसबुक र इन्स्टाग्राममा मौलिक तथा वास्तविक सामग्रीलाई प्राथमिकता दिने रणनीति अपनाउन लागेको बताइएको छ ।
पछिल्ला वर्षहरूमा फेसबुक र इन्स्टाग्रामको फिडमा साथीहरू तथा फलो गरिएका अकाउन्टका पोस्टभन्दा विज्ञापन र रिकमेन्डेड सामग्री बढी देखिन थालेको प्रयोगकर्ताको अनुभव छ । यसले सामाजिक सञ्जालको मूल स्वरूप कमजोर हुँदै गएको र प्लेटफर्महरू मनोरञ्जन–केन्द्रित एल्गोरिदममा आधारित बनेको आलोचना बढेको छ ।
विशेषज्ञहरूका अनुसार प्रयोगकर्ता संलग्नता बढाउन मेटाले सिफारिस गरिएका सामग्रीमा बढी जोड दिएको भए पनि यसले प्रयोगकर्ताको सन्तुष्टिमा नकारात्मक असर पारेको छ । विज्ञापनमा आधारित व्यवसायिक मोडेलका कारण पनि फिडमा प्रायोजित सामग्रीको मात्रा बढेको हो, जसले धेरै प्रयोगकर्तालाई असहज बनाएको छ ।
यसैबीच, मेटाले आफ्ना एल्गोरिदममा सुधार गर्दै मौलिक कन्टेन्टलाई बढी प्राथमिकता दिने र नक्कल वा पुनःप्रकाशित सामग्रीको पहुँच घटाउने तयारी गरेको छ । साथै, फेसबुक र इन्स्टाग्राम दुवैमा कन्टेन्ट र्याङ्किङ तथा फिड प्रदर्शन प्रणालीलाई थप परिमार्जन गर्ने योजना रहेको छ ।
तर, विज्ञापन घटाउँदा आम्दानीमा असर पर्ने र बढाउँदा प्रयोगकर्ता घट्ने जोखिमबीच मेटा सन्तुलन खोज्ने चुनौतीमा रहेको छ । हालका परिवर्तनहरूले फेसबुक र इन्स्टाग्रामले आफ्नो पुरानो लोकप्रियता कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न भने खुला रहेको छ ।







