काठमाडौँ । कोभिडपछि नेपालमा सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा भित्रिएका छन्। २०१९ को अक्टोबरमा भन्दापनि धेरै पर्यटक अहिले भित्रिएका हुन्।
पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो ।
गत वर्ष ५२ हजार १२१ पर्यटक मात्रै भित्रिएका थिए।
पर्यटन बोर्डका प्रवक्ता मनिराज लमिछानेले पछिल्लो समयमा सबैभन्दा धेरै पर्यटक अक्टोबरमा भित्रिएको जानकारी दिए। कोभिडअघि २०१९ मा १ लाख १० हजार पर्यटक भित्रिएका थिए।
बोर्डले संकलन गरेको तथ्यांक अनुसार गृष्म ऋतुमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८० पर्यटक भित्रिएका छन्। अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१९, चाइनाबाट ६ हजार ८८०, अस्ट्रेलिया ६ हजार ७५, जर्मनी ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१ र बंगलादेशबाट ४ हजार २९२ पर्यटक नेपाल भित्रिएका छन्।
अक्टोबरमा महिनामा हिमाल आरोहणसँगै ट्रेकिङको लागि सबैभन्दा बढी पर्यटक आउने गरेका छन्।
१० महिनामा भित्रिए ८ लाख पर्यटक
सन् २०२३ को १० महिनाको अवधिमा ८ लाख पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अक्टोबरको बीचमा ८ लाख ९ हजार ६७८ जना पर्यटक नेपाल आएका छन् ।







