काठमाडौँ । चालू आर्थिक वर्ष २०८० र ८१ को कात्तिक महिनामा विभागले लक्ष्यको ५३.३४ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ ।

विभागले कात्तिक महिनामा ५२ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको भए पनि २७ अर्ब ५६ करोड रुपैयाँ मात्रै सङ्कलन गर्न सकेको हो । जुन लक्ष्यको लक्ष्यको ५३.३४ प्रतिशत मात्रै हो ।

यता, कात्तिकमा भन्सार राजस्व सङ्कलन मात्रै नभई भन्सार महसुल पनि ह्वात्तै घटेको छ। विभागले कार्तिक महिनामा २३ अर्ब ८७ करोड महसुल सङ्कलन गरेको छ। यो लक्ष्यको तुलनामा ४५.६९ प्रतिशत मात्रै हो। यो महिनामा विभागले ५२ अर्ब २४ करोड महसुल सङ्कलन गर्ने लक्ष्य लिएको थियो।

कात्तिक महिनामा दशैं, तिहार र छठ जस्तो पर्वको बिदा एकै महिनामा परेको हुनाले लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको भन्सार अधिकारीहरू बत्ताउँछन् । विभागले कात्तिकमा १९ अर्ब ८० करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य राखेकोमा १२ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ ।

यस्तै, ५ अर्ब २ करोड रुपैयाँ अन्तःशुल्क उठाउने लक्ष्य राखेको विभागले २ अर्ब २१ करोड रुपैयाँ, १ अर्ब ५ करोड रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर उठाउने लक्ष्य राखेको विभागले ४१ करोड रुपैयाँ मात्रै सङ्कलन गर्न सकेको हो ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभागले १ खर्ब ३६ अर्ब रुपैयाँ भन्सार राजश्व सङ्कलन भएको छ । चार महिनाका लागि सरकारले १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व सङ्कलनको लक्ष्य लिएको थियो । तर, लक्ष्यको ६९.०३ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको छ ।

असोज महिनाको अन्तिमसम्ममा १ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य तय भएको थियो । तर, १ खर्ब ८ अर्ब रुपैयाँ मात्रै राजश्व सङ्कलन भएको थियो । जुन, लक्ष्यको ७४ प्रतिशत हो ।

चालु आर्थिक वर्षमा सरकार राजश्व सङ्कलनमा पुरै असफलताको बाटोमा देखिएपछि अर्थमन्त्री डा.प्रकाश शरण महतको कार्य सम्पादनमाथि नै गम्भीर प्रश्न उठेको छ ।

मन्त्री डा.महतले नै सेट गरेको अर्थ मन्त्रालयको संयन्त्र र भन्सार विभाग तथा आन्तरिक राजश्व विभागले लक्ष्य भन्दा निकै थोरै मात्रै राजश्व उठाएपछि मन्त्रीको नेतृत्व क्षमता माथि प्रश्न उठेको हो ।