काठमाडौँ । युनिलिभर नेपालले आगामी मङ्सिर २६ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।

सार्वजनिक सूचना जारी गर्दै कम्पनीले दिउँसो साढे ४ बजे होटेल याक एण्ड यतीमा साधारण सभा आह्वान गरेको हो । साधारण सभाले सेयर धनीका लागि प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

कम्पनीले घोषणा गरेको यो लाभांश हालसम्मकै उच्च हो । गत आर्थिक वर्ष २०७९.८० मा प्रतिकित्ता १२५० रुपैयाँ लाभांश दिएको कम्पनीले अघिल्लो वर्ष २०७८/७९ मा प्रतिकित्ता ६५० रुपैयाँ लाभांश दिएको थियो ।

साधारण सभाको सिलसिलामा कम्पनीले शेयर लागत  किताब मङ्सिर १२ गतेदेखि २६ गतेसम्म बन्द रहने जनाएको छ । सेयर बजारमा युनिलिभर सबैभन्दा महँगो कम्पनी हो । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३९ हजार ४ सय रुपैयाँ छ ।

यसैबिच युनिलिभर नेपाल लिमिटेडले जाजरकोट र रुकुम–पश्चिमका भूकम्पपीडितका लागि नगद तथा राहत सामग्री सहयोग गरेको छ ।

भूकम्पको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राइफुड, हर्लिक्स, सुपलगायतका तत्काल राहत सामग्री पुर्‍याएको कम्पनीले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई साथ दिनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ प्रदान गरेको कम्पनीले उल्लेख गरेको छ ।

विगतका अन्य प्राकृतिक प्रकोपमा जस्तै गरी लचिलो भावनाका साथ युनिलिभर नेपाल लिमिटेडले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै सहयोग रकमको चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको जनाइएको छ ।