काठमाडौं। युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा १३.४९ प्रतिशतले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५.५१ प्रतिशतले बढेको छ । गत वर्ष १ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको यो त्रैमासमा बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ।

यस समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२३ रुपैयाँ ३४ पैसा बढेर १ हजार ३७ रुपैयाँ ५७ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३।२७ गुणा रहेको छ।