काठमाडौं। अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार संसदमा स्पष्टीकरण दिँदै अर्थमन्त्री महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् ।

उनले आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको पनि बताए ।उनले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेकोले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे ।

आर्थिक विधेयकलाई अन्तिमरुपमा दिन अर्थमन्त्री, राजश्व सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र आन्तरिक राजश्व विभागका महानिर्देशक लगायतका व्यक्ती रहने व्यवस्था छ । सोहीअनुसार आगामी आर्थिक वर्षको आर्थिक विधेयक तय गरेको अर्थमन्त्री डा. महतले जनाए ।

‘यही व्यवस्थाअनुसारका व्यक्ती बसेर आर्थिक विधेयकका लागि छलफल ग¥यौँ,’ महतले भने, ‘यो टिम बसेर स्वतन्त्ररुपमा आधारसहित करका दर तय गरिएको छ ।’