काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

यस वर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु हुने उक्त एसइई २७ गते सम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्ड जनाएको छ ।

परीक्षा बोर्डका अनुसार यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्न पत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलको भनाई छ ।

परीक्षाका लागि आवश्यक पर्ने उत्तर पुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताए।

नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यस वर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले यस वर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसइई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिएका छन्।