काठमाडौं । शैक्षिक सत्र २०८२/८३ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेका बेला राष्ट्रिय परीक्षा बोर्डले डिजिटल माध्यममार्फत नतिजा वितरणलाई निरन्तरता दिने भएको छ।

यस वर्ष पनि विद्यार्थीहरूले नतिजा मोबाइल एसएमएसमार्फत सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसका लागि स्प्यारो एसएमएस (जानकी टेक्नोलोजी प्रा.लि.) ले आफ्नो सेवा निरन्तर सञ्चालनमा रहने जनाएको छ।

बोर्डले गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारी निर्देशनअनुसार वैशाख २९ भित्र नतिजा प्रकाशित गर्ने लक्ष्य राखिएको छ।

यसका लागि करिब ५ लाखभन्दा बढी विद्यार्थीले वेबसाइट नखुले पनि एसएमएसमार्फत नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ। विद्यार्थीहरूले ३५००१ मा एसएमएस पठाएर नतिजा प्राप्त गर्न सक्नेछन्।

स्प्यारो एसएमएसका अनुसार सन् २०१० देखि सुरु गरिएको यो सेवा विगत १६ वर्षमा नेपालको नतिजा वितरण प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ। इन्टरनेट नभए पनि मोबाइलमै नतिजा हेर्न सकिने व्यवस्था दुर्गम क्षेत्रका विद्यार्थीका लागि समेत उपयोगी भएको कम्पनीको दाबी छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले विद्यार्थीको नतिजा दिनलाई अझ सहज र छिटो बनाउन सेवा निरन्तर सुधार गर्दै आएको बताएका छन्।

एसएमएसबाट नतिजा हेर्न विद्यार्थीले मोबाइलको मेसेज बक्समा गएर SEE [Symbol Number] टाइप गरी ३५००१ मा पठाउनुपर्ने व्यवस्था रहेको छ।