काठमाडौँ – मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको निर्माण व्यवसायीले दाबी गरेका छन्। उनीहरूले तत्काल मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन्।

सरकारले बहु वर्षीय तथा अन्य १२ महिनाभन्दा बढीका आयोजनाको मूल्य समायोजन नगर्दा आफूहरूले समस्या खेप्नुपरेको निर्माण व्यवसायीको भनाई छ। पेट्रोलियम पदार्थ, फलामजन्य निर्माण सामग्री (छड, ग्याबिन तार, पाता, आइरन ब्लेड) लगायत विभिन्न निर्माण सामग्रीको मूल्यवृद्धि भएको तर सरकारले समयमा मूल्य समायोजन नगर्दा अहिले निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नभएको नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाको भनाई छ ।

वृद्धि भएको मूल्यवृद्धिको क्षतिपूर्ति हुने गरी एकमुष्ट ठेक्काको मूल्य समायोजन गर्नुपर्ने व्यवसायीको धारणा छ । तर सरकारले अहिलेसम्म सम्बोधन गर्न सकेको छैन । निर्माण व्यवसायीले अघिल्लो वर्ष मूल्य समायोजन नगरेको भन्दै ‘कन्स्ट्रक्सन होलिडे’ समेत घोषणा गरेका थिए ।

सार्वजनिक खरिद नियमावली १३ औँ संशोधनले २ हजार भन्दा धेरै आयोजनाको म्याद थप गर्न सक्ने गरी संशोधन भएको तर आयोजनाको भुक्तानी र मूल्य समायोजन नहुँदा उत्साहित हुन नसकेको निर्माण व्यवसायीले बताएका छन् ।

सरकारको कमीकमजोरीका कारण उच्च मूल्यवृद्धिको मूल्य समायोजन हुन नसकेको निर्माण व्यवसायीको भनाई छ । निर्माणको लागि आवश्यक मुख्य सामग्री बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लामाले राष्ट्र बैंकले हरेक एक महिनामा मूल्यवृद्धिको इण्डेक्सका आधारमा हरेक महिना मूल्य समायोजन गर्दा सरकारलाई पनि जोखिम कम हुने दाबी गरेका छन् ।