काठमाडौँ। चालु आर्थिक वर्षमा मुल्यवृद्धिमा केही कमी आएकोे देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ साल फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा ३.७५ प्रतिशत थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.६३ प्रतिशत कायम भएको छ। गत वर्षको सोही समयमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ३.३४ प्रतिशत र ३.९७ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०८२र८३ को पहिलो आठ महिनामा औसत मुद्रास्फीति २.१३ प्रतिशत रहेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यस्तो दर ४.७२ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थतर्फ तरकारी उपसमूहको मूल्य ११.४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल ९.८६ प्रतिशत र फलफूल ९.६३ प्रतिशतले महँगिएको छ। तर, दाल तथा गेडागुडी ३.६६ प्रतिशत, अन्य खाद्य तथा खाद्यजन्य वस्तु २.१८ प्रतिशत र मरमसला २.०३ प्रतिशतले सस्तिएका छन्।
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य २२.८१ प्रतिशतले बढेको छ। यसैगरी शिक्षा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थ ४.७७ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ४.७३ प्रतिशत र सुर्तीजन्य पदार्थ ३.५७ प्रतिशतले महँगिएका छन्। यता बीमा तथा वित्तीय सेवा उपसमूहको मूल्य भने ०.०३ प्रतिशतले घटेको छ।







