काठमाडौं । वाणिज्य बैंकहरुसँग प्रशस्त मात्रामा लगानीयोग्य रकम थुप्रिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन् ।
बिहीबार दिउसो काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले हाल बैंकहरुसँग ५ खर्ब रुपैयाँ भन्दा बढी अधिक तरलताको स्थिति रहेको बताएका हुन्। अहिले बैंकहरुमा निक्षेप बढे पनि कर्जा प्रवाह नहुँदा अधिक तरलताको स्थिति रहेको उनले बताएका छन् ।
यता,बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८१ प्रतिशत रहेको पनि केसीले जानकारी गराएका छन्। साथै यसबाट पनि बैंकहरुसँग लगानीयोग्य रकम प्रशस्त रहेको पुष्टि हुन्छ । यस्तै, कर्जाको ब्याजदर पनि एकल अंक बराबर आएको उनको भनाई छ।
यसअघि ११.०८ प्रतिशत रहेको औसत बेस रेट अहिले ८.७७ प्रतिशत मा सीमित भएको उनको भनाई छ । उक्त बेस रेट एकल ब्याजदर बराबर रहेको उनको भनाई छ । अहिले घर कर्जा र विद्युतीय सवारी साधनको ब्याजदर सस्तो भएको केसीले बताए ।