दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४४ वर्षीया वकी डाँगीले व्यावसायिक रुपमा भैँसी पालन सुरु गरेको एक दशक भयो । यसले उनलाई आत्मनिर्भर मात्रै बनाएको छैन सफल उद्यमीको पनि पहिचान पनि दिलाएको छ ।

उनी मात्रै होइन, परिवारका दुई सदस्य पनि यसै पेसामा संलग्न छन् । त्यसबाहेक दुई जना स्थानीयलाई पनि उनले जागिर दिएकिछन् । ‘वार्षिक करिब सातदेखि आठ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ’, उनले भनिन् ।

उनको दिनचर्या मिर्मिरे उज्यालोदेखि सुरु हुन्छ र भैँसीका पाडापाडीको स्याहारमै बित्छ । परम्परागत खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फाराम दर्ता गरी व्यावसायिक भैँसीपालन सुरु गरेकी हुन् । ‘सुरुमा एक लाखमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हौँ, अहिले फर्ममा साना र ठूला गरी ३८ भैँसी र पाडापाडी छन्’, उनले भनिन् ।

जसमध्ये हाल १३ वटा भैँसीले दूध दिइरहेका छन् । ती भैँसीबाट दैनिक ९० देखि एक सय लिटर दूध तुलसीपुर बजारममा डाँगी आफैले सञ्चालन गरेको डेरीमार्फत बिक्री भइरहेको छ । कोरोना महामारीमा आफूले उत्पादन गरेको दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परे पनि अहिले भने कुनै समस्या नभएको उनको भनाइ छ । दाङमा अहिले दूधको फुटकर मूल्य प्रतिलिटर एक सय र दहीको एक सय १० पर्छ ।

डाँगीको भैँसी फर्ममा हालसम्म २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मूल बिक्रीबाट वार्षिक २० देखि २५ लाखसम्म आम्दानी भइरहेको छ । घाँसको पर्याप्त उपलब्धता नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागतखर्च बढेको पनि डाँगीको भनाइ छ । – रासस