काठमाडौं । नौ महिनाको अवधिमा कैलाली भन्सार कार्यालय धनगढीले पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका अनुसार चालु आव २०८०-८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व संकलन गरेको  जनाएको छ ।

कार्यालयले उक्त अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ३३ करोड एक लाख, अन्त शुल्कतर्फ रु १५ करोड छ लाख र अन्यतर्फ रु एक अर्ब छ करोड ५१ लाख राजस्व सङ्कलन भएको जानकारी दिएको छ ।

कार्यालयको तथ्याकं अनुसार चालु आवको  नौ महिनामा ८ अर्ब ५६ करोड ६४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ६६ दशमलव ९४ प्रतिशत मात्रै राजस्व संकलन भएको देखिएको छ ।

चालु आवको साउनमा रु ४६ करोड ८२ लाख, भदौमा रु ५१ करोड ९३ लाख, असोजमा रु ६३ करोड १४ लाख, कात्तिकमा रु ६१ करोड ४६ लाख र मङ्सिरमा रु ७३ करोड ३४ लाख राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा रु ६८ करोड ९० लाख, माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड एक लाख र चैतमा रु ७२ करोड १३ लाख राजस्व सङ्कलन भएको  कैलाली भन्सार कार्यालयले जानकारी दिएको छ ।