काठमाडौं । नेपाली बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा कम्पनीले आफ्ना जोखिम अस्विकार गर्ने क्रम (रेट अफ रिफ्यूजल) बढेको गुनासो गरेका छन् । कम जोखिम भएका बीमाहरु नेपालमै पुनर्बीमा हुन थालेसँगै विदेशमा बाँकी रहेका रहलपहल बीमा पुग्न थालेको भन्दै विदेशी पुनर्बीमा कम्पनीहरुले जोखिम बहन गर्न आनाकानी गर्न थालेका हुन् ।
ठिक यही बेलामा नेपालको बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले भने फरक धारणा दिएको छ । आर्थिक भ्वाईससँग बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले भने,‘नेपालमै पुनर्बीमा गर्नु पर्ने प्रोडक्ट जम्मा १६ प्रतिशत रहेको छ । त्यो डाईरेक्सेसन स्वरुप राख्ने हो । अर्को भनेको टीडीको जम्मा ३० प्रतिशत मात्रै रकम नेपालमा राख्न मिल्ने व्यवस्था छ । यसमा वास्तविकता छ के छ भने उल्टो उनीहरुले बदमासी गरिरहेका छन् नि । नेपालमा चाही रहलपहल बीमा राख्ने अधिकांश बीमा कम्पनीहरुको चाहना छ । त्यसो भएपछि उनीहरुले हाम्रो दायरा साघुँरो भयो भनेर दोष लगाएको हुनसक्छ ।’ उनले क्लिन बिजनेश (कम जोखिम भएका व्यवसाय) नेपाल बाहिर पठाउँने अनि नेपालमा डट्टी (उच्च जोखिम भएका प्रोडक्टहरु) राख्न रुचाएको देखिन्छ ।
सिलवालले तोकिएको दर भाउँ भन्दा सस्तो दरमा बीमा गराउँन खोज्दा विदेशी रि इन्स्योरेन्स हिच्किचाउँने एउटा कारण हुनसक्ने बताएका छन् । अबको दिनमा अण्डर इन्स्योरेन्सले नेपाली पुनर्बीमा होस् वा विदेशी पुनर्बीमा होस् कसैले पनि बीमा नगर्ने उनको बुझाई छ ।
उनले थपे,‘हाम्रो कानुनले भने बमोजिमको व्यवसाय नेपालमा राखेर, यहाँको डाइरेक्सेसन दिएर अनि बाँकी रहेको रकम बाहिर पठाउँने हो । त्यो पठाउँन, आफ्नो पोर्टफोलियोको सबै बीमा पठाउँन मिल्ने व्यवस्था रहेकाले बीमा कम्पनीहरुले डर्टी बिजनेश मात्रै बाहिर जान्छ भन्नु बेकारको कुरा हो । यस्तो फ्टयाई कुरा, सरासर झुट कुरा चाही कसैले गर्न मिल्दैन । त्यही कम्पनीहरुको अवस्था तपाईले हेर्नु भयो भने उनीरुले दुई प्रतिशत व्यवसाय पनि नेपालमा राख्न रुचाउँदैनन् । त्यस्ता अनावश्यक कुरा गरेर, आफू व्यवसाय गरेर कमिसश खाने अनि मुखले मात्रै घाटा हुने भयो भनेर त भएन नी ।’
बीमा कम्पनीहरु चिन्तित
यता निर्जीवन बीमा कम्पनीका केही प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले रेट अफ रिफ्युजल बढ्नु निकै गम्भिर रहेको कुरामा जोड दिएका छन् । उनीहरुले ठूलो अर्थतन्त्र भएको मुलुक चीन र भारतको नक्कल गरेर नेपाली बीमा व्यवसाय चलाउँन नसक्ने बताएका हुन् । यस्तो अवस्थाले तत्काल नेपाली जोखिमको पुनर्बीमा नहुने र दोस्रोमा बीमा कम्पनीहरुको व्यवसायमा बार्गेनिङको अवस्था सुरु हुने उच्च जोखिम रहेको धारणा दिएका छन् ।
केही सीईओहरुले भने जलविद्युतको बीमा, भुकम्पिय जोखिमका कारण पूर्वाधारहरुको बीमा जस्ता ठूला जोखिम नेपाल बाहिर जान सकसपूर्ण अवस्था सिर्जना भएको र यसमा नियामक बीमा प्राधिकरणले बेलैमा उचित कदम चाल्नु पर्ने बताएका हुन् ।







