काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बसपार्क बाहिरका टिकट काउण्टर हटाएको छ । महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउण्टर हटाएको हाे । कामपाले गोङ्गबु, कलङ्की क्षेत्रमा अव्यवस्थितरुपमा राखिएका टिकट काउण्टर हटाइएको छ ।

महानगरको निर्णय कार्यान्वयन भएसँगै दैनिकरुपमा उपत्यका बाहिर सञ्चालित करिब दुई हजार सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन हुनेछन् ।

काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् ।

काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् ।

नयाँ बसपार्कभित्रबाट यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउण्टर निर्माणलाई तीव्रता दिएको छ ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्दै पार्किङका लागि कामपाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो ।