काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामुदायिक विद्यालय बन्द गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्ने र आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ आन्दोलनको घोषणा गरेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै परिषद्ले विद्यालय बन्दको घोषणा गरेको हो।

नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ को संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषयहरु सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर बजेटमा उक्त विषय छुटाइएको भन्दै परिषद् आन्दोलित भएको हो ।

काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीहरूलाई कारबाही गरिने मेयर बालेनले बताएका छन् ।

उनका अनुसार आइतबार शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ भने विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ । कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ र काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिनेछ ।

उनले महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू तथा समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन पनि दिएका छन् ।