काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा करिब डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४३ करोड रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ। केन्द्रीय बैंकले २०८१ आसार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले जेठ २७ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ। राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १४ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २१ करोड ४५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ७ करोड १५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ। यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।