काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा सर्वसाधारणलाई भ्रमित पार्ने गरी फर्जी आवेदन दिने १२ जनाको नाम सार्वजनिक भएको छ । कम्पनीको आईपीओमा १० लाख कित्ताका दरले फर्जी आवेदन दिने १२ लगानीकर्ताको विवरण सार्वजनिक भएको हो ।

बैंक खातामा रकम नभई कम्पनीको आईपीओमा आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर–१ का प्रेमप्रसाद आचार्य, सोही वडाका उज्जवल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका–३ की श्रीजा पोखरेल रहेका छन् ।

यस्तै, सुनसरीको देवानगन्ज–१ का मिथिलेशकुमार मेहता, दोलखाको नाम्दु–३ का नवीन खत्री, ललितपुरको टिकाथली–५ का अनिल राना, पर्वतको कार्कीनेटा–३ की रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरका सुमित्रा बम छन् ।

यस्तै, गोरखाको सिरानचोक–३ की सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाकी लक्ष्मी घिमिरे, मोरङ कानेपोखरी–१ की मुना खत्री र चितवनको भण्डारा–१ का मनोज पाठक रहेका छन् ।

साथै, उनीहरुले कम्पनीको रकम नभएको खाताबाट आवेदन दिएपछि अस्वीकृत भएको छ । कम्पनीको आईपीओमा ४३ करोड ३५ लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिए । स्रोतका अनुसार कम्पनीको आईपीओमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको थियो । ठूलो संख्यामा फर्जी आवेदन परेपछि कम्पनीको सेयरमा उच्च आकर्षण देखाउन सर्वसाधारणलाई भ्रमित पार्ने गरी आईपीओ भरिएको देखिएको छ।

सर्वसाधारणलाई अन्योलमा पार्ने गरी जालसाझीयुक्त कारोबार गरेको पाइए धितोपत्र ऐनअनुसार सजाय हुनेछ । ऐनको दफा ९८ अनुसार जालसाझीयुक्त कारोबार गरेको प्रमाणित भएमा दफा १०१ को उपदफा ३ अनुसार १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्नेछ । त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएमा क्षतिपूर्तिसमेत भराउने व्यवस्था ऐनमा छ ।

घोराही सिमेन्ट इन्डस्ट्रीले यही जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । प्रतिकित्ता ४३५ रुपैयाँ दरका यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। कम्पनीको आईपीओमा फर्जी आवेदन परेपछि नेपाल धितोपत्र बोर्डले निष्काशन प्रक्रिया स्थगित गरेको छ ।

‘फर्जी’ आवेदन दिने लगानीकर्ताको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको स्रोतले जनाएको छ।