काठमाडौँ। आज साउन १ गतेबाट डिम्याट खातामा नवीकरण नगर्नेको सेयर फ्रिज हुने भएको छ। आर्थिक वर्ष सुरु भएसँगै डिम्याट खाता अनिवार्य नवीकरण गर्नुपर्ने हुन्छ।
अन्यथा, उक्त खातामा धितोपत्र क्रेडिट हुने भएता पनि डेबिट गर्न मिल्ने छैन । यसर्थ, डिम्याट नवीकरण नभएको खण्डमा लगानीकर्ताले सेयर सेटलमेन्ट गर्न नसकिने भएको छ । डिम्याटको भेलिडिटी (वैधता) आर्थिक वर्षसँगै समाप्त हुने गर्दछ।
यदि कसैले जेठ महिनामा खाता खोलेको छ भने पनि त्यसको भेलिडिटी असार मसान्तसम्म मात्र रहन्छ। नयाँ आर्थिक वर्ष लागेसँगै डिम्याट पनि नवीकरण गर्नुपर्ने हुन्छ । तर, मेरो सेयरका लागि भने वार्षिक रूपमा नवीकरण गर्दा हुन्छ । हितग्राही खाताको नवीकरण शुल्क १०० रुपैयाँ रहेको छ ।
त्यसै गरी, मेरो सेयरको उक्त शुल्क ५० रुपैयाँ पर्न जान्छ । डिम्याट होल्डरहरूले आफूले खाता खोलेको बैंक, ब्रोकर, मर्चेन्ट बैंक वा क्यापिटलमा गएर नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी, विभिन्न वालेटबाट पनि उक्त सेवा शुल्क तिर्न सकिन्छ । यता, डिम्याट खाता नवीकरण गर्न धेरै बैंक, क्यापिलट, मर्चेन्ट बैंक र ब्रोकर कम्पनीहरूले सूचना पनि जारी गरेका छन् ।
सीडीएस एन्ड क्लियरिङको पछिल्लो तथ्यांक अनुसार हालसम्म ६३ लाख १२ हजार भन्दा धेरै डिम्याट खातामा सञ्चालनमा रहेका छन् भने ५३ लाख ६६ हजार भन्दा धेरैको मेरो खाता रहेको छ ।






