काठमाडौं। नेपाल बीमा प्राधिकरणले तोकिएको निश्चित समयसम्म पूँजी पुर्याउन नसक्ने बीमा कम्पनीहरुलाई रिजर्भमा भएको रकम गणना गर्न दिने भएको छ । यद्दपि, उनीहरुले प्राधिकरणले तोके अनुसार चुक्ता पूँजी भने वृद्धि गर्नुपर्नेछ । हकप्रद वा बोनस शेयर वितरण गरेर चुक्ता पूँजी बढाउने तयारीमा रहेका कम्पनीहरुले प्राधिकरणले थपेको समय भित्र पूँजी बढाउनु पर्नेछ ।
नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा हकप्रद शेयर बिक्रीका लागि अनुतमि मागेका कम्पनीहरुले समयमै स्वीकृति पाएनन् । जसकारणले बीमा कम्पनीहरुको पूँजी वृद्धिको प्रकृया रोकिएको थियो ।
अहिले भने बोर्डले हकप्रद शेयरका लागि अनुमति दिन थालेको छ । त्यसैले अनुमति पर्खिरहेका कम्पनीहरुले अब विस्तारै पूँजी बढाउने छन् । यसका लागि प्रायः सबै कम्पनीहरुले कसरी पूँजी बढाउने भनेर तयारी थालिसकेका छन् ।
सूचीकृत ११ वटा बीमा कम्पनीहरुले बीमा प्राधिकरणले तोके अनुसार पूँजी वृद्धि गर्नका लागि हकप्रद शेयर जारी गर्ने भएका छन् । ७ वटा निर्जीवन बीमा र ४ वटा जीवन बीमा कम्पनीहरु हकप्रद जारी गरेर पूँजी बढाउने बाटो रोजेका हुन् ।
नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा जीवन बीमा र निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पूँजी क्रमशः ५ अर्ब र साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । उक्त निर्देशनको पालना गर्दै अधिकांश बीमा कम्पनीहरुले मर्जर गरेर पूँजी बढाउने बाटो रोजे । मर्जर प्रश्चात पनि पूँजी नपुगेका कम्पनीहरुले भने हकप्रदबाट पूँजी बढाउने निर्णय गरेका छन् ।
यता, प्राधिकरणले निर्देशन दिएको समय आईपीओ बिक्री गर्न बाँकी कम्पनीहरुले भने प्रिमियम थपेर आईपीओ जारी गरे । ती कम्पनीहरुले सोही प्रिमियमको रकमले बोनस शेयर वितरण गरेर पूँजी बढाउने भएका छन् । उक्त रकमबाट बोनस शेयर वितरण गर्दा पनि पूँजी नपुगेको खण्डमा हकप्रद जारी गरेर पूँजी बढाउने भएका हुन् ।
बीमा प्राधिकरणले मर्जरमा गएर पनि पूँजी नपुग्ने कम्पनीलाई मात्र हकप्रद बिक्री गर्न दिने जनाएको थियो । पछि यो निर्णयबाट प्राधिकरण पछि हटेको छ । त्यसैले मर्जरमा नगएका नेको, प्रभु, एनएलजी र नेपाल इन्स्योरेन्सले पनि हकप्रदको प्रस्ताव गरेका छन् । यता, लाइफ इन्स्योरेन्स कर्पोरेसन्स ९नेपाल० र एशियन लाइफले पनि कसैसँग मर्जर नगरी हकप्रद ल्याउने तयारी गरेका छन् ।
हकप्रद प्रस्ताव गरेका जीवन बीमा कम्पनीहरु
हालसम्म ४ वटा जीवन बीमा कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेका छन् । यिनीहरुमध्ये, लाइफ इन्स्योरेन्स कर्पोरेसन्स ९नेपाल०ले ८८ प्रतिशत, प्रभु महालक्ष्मीले १७ प्रतिशत, एशियन लाइफले भने ४२ प्रतिशत हकप्रद बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेका छन् । बोर्डबाट स्वीकृति पाएपछि हकप्रद बिक्रीको प्रकृया अघि बढ्नेछ ।
त्यस्तै, सन नेपालले भने २७ प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेर उक्त प्रस्ताव साधारण सभामा पेश गरेको छ । यता, सिटिजन लाइफले भने २६ प्रतिशत बोनस शेयर वितरण गरेर पूँजी बढाउने भएको छ । हकप्रद शेयर जारी गरेर पनि पूँजी नपुगेका कम्पनीले भने पछि बोनस शेयर वितरण गरेर ५ अर्ब पूँजी पुर्याउने छन् ।
निर्जीवन बीमा
हाल ७ वटा निर्जीवन बीमा कम्पनीहरुले हकप्रद जारी गर्ने घोषणा गरेका छन् । जसमध्ये, नेको इन्स्योरेन्सले २५ प्रतिशत, प्रभुले ५० प्रतिशत र एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद बिक्रीका लागि बोर्ड समक्ष अनुमति मागेका छन् । यता, युनाइटेड अजोडले १५, सानिमा जीआइसीले २५ र नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेका छन् । यिनीहरुमध्ये केही कम्पनीले हकप्रद जारी गरेपनि पूँजी नपुगेको खण्डमा बोनस शेयर वितरण गरेर पूँजी पुर्याउने भएका छन् ।
यता, सरकारको पनि लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म कसरी पूँजी बढाउने भनेर कुनै घोषणा गरेको छैन । यसको केही वर्षको अडिट हुन पनि बाँकी छ ।