काठमाडौँ । बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर नखस्कियोस् भन्नका लागि लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा खिच्न लागिएको हो ।

अन्तर बैंक दर तीन प्रतिशत भन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ। हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।

निक्षेप संकलन खरिदका लागि आज (बुधवार) दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।