काठमाडौँ।  हाम्रो दुखको कमाई छिटो फिर्ता दिलाई दे ए सरकार,

सहकारीले दुखको कमाई लुटिदिँदा , जिन्दगी नै अँध्यारो भयो ,

ओखती र खाना खान नपाएर बाच्न साह्रै गाह्रो भयो

माथि उल्लेखित नारा सहित काठमाडौँको रत्नपार्कमा सहकारी पीडितले फेरि प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरे आरोप सहित पीडितहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका  छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ९महासंघ०को नेतृत्वमा भएको प्रदर्शनमा सरकारले आफूहरूको भावना माथि खेलवाद गरेर आन्दोलनलाई कमजोर बनाउने बाहेक केही गर्न नसकेको बताएका छन् ।

बचत फिर्ताका लागि विभिन्न चरणमा गरिएको आन्दोलन अनुसार सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि गत जेठ ११ गतेदेखि उनीहरूले रिले अनशन गरेका थिए । रिले अनशन ६५ दिन पूरा गर्दा पनि सरकार संवेदनहीन भएको पीडितहरूको गुनासो छ ।

महासंघले रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गर्ने र हस्ताक्षर अभियान पनि चलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सहकारी पीडितहरू मुखमा टेप लगाएर प्रदर्शनमा सहभागी छन् ।