काठमाडौं। पछिल्लो एक वर्षयता नेपालमा विदेशी मुद्राको सञ्चिति बढिरहेको छ । जसकारण बढ्दो डलर सञ्चितिलाई सदुपयोग गर्नका लागि कार्यक्रमहरू ल्याइनुपर्ने आवश्यकता विज्ञहरूले औंल्याइरहेका छन्।

गत जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको छ । गत वर्ष असार मसान्तमा नेपालमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको यस्तो सञ्चिति जेठ मसान्तसम्ममा २७.८ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा उक्त सञ्चिति गत वर्षमा असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेकोमा गत जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

नेपालमा रहेको विदेशी मुद्रामध्ये करिब साढे २२ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको छ। गत जेठ मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १७ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। केन्द्रीय बैंक बाहेकका संस्थामा २ खर्ब १४ अर्ब ४२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ।

राष्ट्र बैंकले अहिले नेपालमा उपलब्ध विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु वा १२.६ महिनाको वस्तु तथा सेवा दुवैको आयात धान्ने अनुमान गरेको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिएकोमा उल्लेख्य बढेको हो ।

सञ्चिति अहिलेसम्मकै सबैभन्दा उच्च भए पनि यसको अधिकतम उपयोग गर्न सकिएको छैन । रकमका आधारमा अहिले डलर सञ्चिति उच्च रहे पनि आयात पर्याप्तताका हिसाबमा भने होइन। किनकी २०७७ साउनमा १५.६ महिनाका लागि वस्तु तथा सेवा धान्ने डलर सञ्चिति रहेकोमा २०८१ जेठसम्ममा १२.६ महिनाको मात्रै वस्तु तथा सेवाको आयात धान्ने अवस्था छ ।

जानकारहरूका अनुसार पछिल्लो समय मुलुकमा विदेशी मुद्राको सञ्चिति बढ्नुमा विशेषगरी रेमिटेन्सले भूमिका खेलेको छ । रेमिट्यान्स उल्लेख्य रुपमा बढेकै कारण विदेशी मुद्रा पनि बढेको उनीहरूको भनाइ छ । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्ममा नेपालमा गत वर्षको सोही अवधिका तुलनामा रेमिट्यान्स आउने क्रममा १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यस्तै पर्यटकको भ्रमण आय बढेर पनि सञ्चितिमा सहयोग भएको राष्ट्र बैंकले जनाएको छ ।

यसबाहेक राष्ट्र बैंककै नीतिका कारण पनि रेमिट्यान्स बढेको कतिपय जानकारको भनाइ छ । करिब दुई वर्षअघि नेपालको शोधनान्तर स्थिति घाटामा गएपश्चात त्यसलाई सुधार गर्न सरकार र राष्ट्र बैंकले आयातमा कडाई गरेको थियो । जसकारण पनि विदेशी मुद्राको सञ्चिति बढेको जानकार बताउँछन् । विदेशी विनिमय सञ्चिति बढ्दै गएपश्चात राष्ट्र बैंकले विभिन्न नीतिहरूमा लचकता समेत अपनाउँदै गएको छ । हालै सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा समेत केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति लिएको छ ।

राष्ट्र बैंकले नेपाली नागरिकले विदेश जाँदा लैजान पाउने डलर सटही सुविधा तथा आयातका लागि पाइने विदेशी मुद्रासम्बन्धी नियमलाई केही खुकुलो बनाएको छ । राष्ट्र बैंकले गत बुधवार परिपत्र जारी गर्दै अब नेपालीले जति पटक विदेश जाँदा पनि हरेक पल्ट २ हजार ५ सय अमेरिकी डलर साट्न पाउने व्यवस्था गरेको छ। यसअघि एक वर्षमा दुई पटक मात्र यस्तो सुविधा पाइन्थ्यो । विदेशी मुद्राको सञ्चिति बढ्दै जाँदा नीतिगत सहजीकरण गरिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै विभिन्नखाले आयात र डलर खाता भएका नेपाली एवं विभिन्न निकायका कर्मचारीले खर्च गर्न पाउने डलरको सीमा पनि बढाइएको छ । अहिले मुलुकमा उपलब्ध रहेको डलर सञ्चितिलाई औद्योगिक वा अन्य कच्चा पदार्थ आयात गरी उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सक्नुपर्नेमा त्यस्तो नभएको जानकारहरू बताउँछन् । यस्तै सरकारले भौतिक पूर्वाधारका काम, पुँजीगत खर्चसँग जोडिएका काम, निजी क्षेत्रले कलकारखाना बनाउने क्रममा आवश्यक कच्चा पदार्थ लगायतका वस्तु विदेशबाट ल्याउने र उपयोग गर्नेतर्फ जोड दिएर सञ्चितिको सदुपयोग गर्नुपर्नेमा जानकारहरू जोड दिन्छन् ।

आर्थिक वर्ष २०८०र८१ मा विप्रेषण आप्रवाहमा भएको वृद्धि र आयातमा आएको संकुचनको कारण शोधनान्तर बचत उल्लेख्य बढ्न गई एघार महिनासम्ममा कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

रेमिटेन्सको वृद्धिदर सामान्य रहने तर आयातमा विस्तार हुने सम्भावनाले आर्थिक वर्ष २०८१/८२ मा विदेशी विनिमय सञ्चितिको वृद्धिदर केही कम हुन सक्ने देखिएको राष्ट्र बैंकको भनाइ छ ।