काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गरिने भएको छ । उक्त निक्षेप पत्रको आजै बिक्री गरिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

यो २१ दिने निक्षेप संकलन उपकरणको भदौ १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले साउन लागेयता यो चौथो पटक निक्षेप संकलन उपकरण मात्र तरलता प्रशोचन गर्न लागेको हो ।