काठमाडौं। नेपाली नागरिकले विदेशमा रहँदा बस्दाको अवधिमा त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकको खातामा जम्मा गर्न सक्ने भएपनि त्यस्तो रकम व्यक्ति नेपाल फर्किसकेको हकमा समेत विदेशमा नै राख्न चाहेमा नेपाल राष्ट्रबैंकसँग स्वीकृति लिनुपर्ने स्पष्ट पारेको छ ।
‘विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्नुपर्छ’, राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनामुलक सूचना जारी गर्दै भनेको छ, ‘तर व्यक्ति नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र निवेदन दिनुपर्छ ।’
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था अनुसार कुनैपनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनैपनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको बैंकले उक्त सूचना मार्फत जानकारी दिएको छ ।







