काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका विषयमा भ्रम सृजना गर्ने काम भइरहेको बताएका हुन् ।

आज नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पछिल्लो समय केही अराजकतत्त्वहरूले सहकारीलाई बदनाम गर्ने र भ्रम फैलाउने काममा सक्रिय भएको बताएका छन् ।

उनले राम्रा काम गरेका सहकारीको कामलाई मूल्याकंन नगरी नराम्रो कामहरूलाई मात्रै बाहिर ल्याइरहेको भन्दै त्यस विषयमा सम्पूर्ण निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको बताएका छन् । उनले सहकारीको समस्या समाधानका लागि सुझाव लिएर नै काम गरेको जानकारी दिएका छन् ।

‘एकै पटक दुई वटा आयोग बनाउन नमिल्ने भएकाले सहकारीको छानबिन समितिको रिपोर्टको प्रतीक्षामा छौँ,’ ‘सहकारीमा एउटै प्रवृत्तिको पीडित छैनन् । कोही वास्तविक पीडित समस्यामा छन् । बैंकबाट ऋण लिएर सहकारीमा राख्ने अनि बिचको ब्याज खाने त्यस्तो मान्छे पीडित हुन्छ ?’ उनले प्रश्न समेत गरेका छन् ।

साथै, मन्त्री अधिकारीले कतिपय समस्या समाधानका निमित्त कानुन बाधक भएको समेत बताएका छन् । कर्जा असुली न्यायाधिकरणको काम, कर्जा सूचना केन्द्र र सहकारी कोषको लागि काम अघि बढेको समेत मन्त्री अधिकारीले जानकारी गराएका छन् ।