काठमाडौं । आज बसको अर्थ समितिको बैठकमा ‘चेक बाउन्स’ सम्बन्धी मुद्दामा १ महिनादेखि २ वर्षसम्मको सजाय तोक्ने गरी कानुन बनाउन सहमति जुटेको छ।
प्रतिनिधि सभाको अर्थ समितिमा बैंकिङ कसुर नियन्त्रण गर्न संशोधन गर्न लागिएको ऐनमा उक्त सहमति जुटेको हो । आइतबार बसेको समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफलका क्रममा चेक अनादर मुद्दामा एक महिनादेखि २ वर्षसम्म कैद सजायको व्यवस्था गर्ने निर्णय भएको हो ।
समिति सभापति सन्तोष चालिसेका अनुसार १५ लाखसम्मको चेक अनादरमा १ महिना, ५० लाख सम्मको चेक अनादरमा ३ महिना, १ करोड सम्मको चेक अनादरमा १ वर्ष र १ करोडभन्दा माथिको चेक अनादरमा २ वर्ष कैद सजाय र ५ प्रतिशत जरिवानाको व्यवस्था गर्नेबारे समितिमा सहमति जुटेको हो। यस अन्तर्गत ऐन संशोधनमार्फत १५ लाख सम्मको चेक बाउन्समा १ महिना कैद सजायको व्यवस्था राख्ने सहमति जुटेको हो ।







