काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। निक्षेप बढिरहेको बेला कर्जाको माग बढ्न नसक्दा वित्तीय प्रणालीमा तरलता थुप्रिएको हो ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले सोमबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो। राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो। हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।
निक्षेप संकलन खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
बैंक वित्तीय संस्थाहरूको एसडीएफ र निक्षेप संकलन उपकरणमा गरेको २ खर्ब ७६ अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएको छ । कर्जा विस्तार गर्न नसक्दा बैंकहरुले प्रणालीमा भएको अधिक रकम राष्ट्र बैंकका अल्पकालीन उपकरणहरूमा लगानी गरेका हुन् ।







