काठमाडौं । आजदेखि काठमाडौंबासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने भएका छन्। आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले जानकारी दिए ।
११ असारदेखि मेलम्ची पानी काठमाडौं पथान्तरण गर्न बन्द गरिएको थियो । अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको थियो । असार दोस्रो साता अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो ।
यसबीच सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सोमबार सहमति भएको छ । योसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ ।
हेलम्बु गाउँपालिका मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज माग सम्बोधन गर्ने सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले आर्थिक भ्वाइसलाई जानकारी दिए ।
वार्तामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेको मेलम्ची पानीबाट प्राप्त हुने रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने मागमा मन्त्रालय र सरोकारवाला निकायबीच छलफल गरी तीन महिनाभित्र टुंग्याउने सहमति भएको छ ।
त्यस्तै हेलम्बु मेलम्ची एकीकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन प्रस्ताव यथाशीघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी कार्यान्वयनमा खानेपानी मन्त्रालयले पहल लिने सहमति छ ।







