काठमाडौं । सरकारको कुल सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड पुगेको छ ।

सरकारले चालू आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण लिने योजना बनाएको छ । दुई महिनामै सार्वजनिक ऋण लिने लक्ष्यको १८ दशमलव ६६ प्रतिशत पुगेपछि सरकार हौसिएको छ । सरकारले आन्तरिकतर्फ ३ खर्ब ३० अर्ब र बाह्यतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ ऋण प्राप्तिको लक्ष्य लिएको छ ।

चालू आवको पहिलो दुई महिनामा लक्ष्यको २७ दशमलव २७ प्रतिशत आन्तरिक ऋण उठाइएको छ । भने १४ अर्ब ५ करोड रुपैयाँ बाह्य ऋण प्राप्त गरेको छ । यो लक्ष्यको ६ दशमलव ४८ प्रतिशत हो । अहिलेसम्म प्राप्त भएको सार्वजनिक ऋणलाई कटाउने हो भने बाँकी १० महिनामा सरकारले आन्तरिक २ खर्ब ४० अर्ब र बाह्यतर्फ २ खर्ब २ अर्ब ९५ करोड रुपैयाँ गरी कुल ४ खर्ब ४२ अर्ब ९५ करोड रुपैयाँ ऋण लिन प्रयास गर्नेछ ।

चालू आव २०८१–८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड रुपैयाँ सरकारी ऋण थपिएपछि ऋणको आँकडा बढेको हो । सरकारले भदौ मसान्तसम्म ९० अर्ब आन्तरिक र १४ अर्ब ५ करोड रुपैयाँ बाह्य गरी कुल १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ ऋण प्राप्त गरेको थियो । यद्यपि, दुई महिनामा ३५ अर्ब रुपैयाँ आन्तरिक र ४ अर्ब ६७ करोड रुपैयाँ बाह्य ऋण तिरेका कारण दुई महिनामा सार्वजनिक ऋण ९४ खर्ब ५२ अर्ब मात्र थपिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आव सुरु हुँदा २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँबराबर पुगेको हो ।