काठमाडौँ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा २ खर्ब १८ अर्ब १० करोड मूल्यको सामान आयात भएको छ ।

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १९% वृद्धि अर्थात् ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ ।

गत आर्थिक वर्षको तीन महिनाको अवधिमा भने एक खर्ब ८३ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको तीन महिनामा आयात ह्वात्तै बढेको बताएका छन् ।

वीरगञ्ज नाका हुँदै तीन महिनामा ३८ अर्ब ९ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थ आयात भएको छ । १९ अर्ब ८४ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरु आयात भएका छन् । सोही अवधिमा १५ अर्ब ५७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । १४ अर्ब ८० करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।

त्यस्तै १२ अर्ब ८१ करोड मूल्य पर्ने मलखाद आयात भएको छ । १२ अर्ब १६ करोड मूल्य पर्ने सबै प्रकारका कपडा आयात भएको छ । १२ अर्ब छ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तीनका पार्टपुजा आयात भएका छन् । सोही अवधिमा १० अर्ब १२ करोड मूल्य पर्ने यातायातका साधन र तिनका पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।