काठमाडौं । दाइजो मागेको आरोपमा एक जना बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा बेहुलालाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–६ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार छन् । रौनियारको यही असार १२ गते काठमाडौंको नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह थियो ।
विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ नपाए विवाह रद्द गर्ने धम्की दिएका थिए ।
केटा पक्षले पटक–पटक गरी २२ लाख रुपैयाँसमेत केटी पक्षबाट लगेको बुझिएको प्रहरीले जनाएको छ । विवाद बढ्दै गएपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको हो ।
रौनियार उपर विवाह सम्बन्धी कसुर मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।