काठमाडौँ । ठुला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले लगानी बोर्डसँग छलफल अगाडि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउनका लागि आज लगानी बोर्डसँग मन्त्रालयमा छलफल गरेका छन् ।

बैठकमा अपर कर्णाली जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, वेतन कर्णाली जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाजस्ता आयोजनालाई सञ्चालन तथा विकास गर्नको लागि छलफल भएको हो ।

‘ठुला जलविद्युत् आयोजनालाई अगाडि बढाउनका लागि आवश्यक पर्ने लगानी, पूर्वाधार, कानुनी रूपरेखासहित विषयलाई समन्वयात्मक तवरले अगाडि बढाउन बारेमा छलफल भएको मन्त्रालयले जानकारी दिएका छन् ।

बैठकमा जलाशययुक्त ठुला जलविद्युत् आयोजना निर्माण गर्दा आवश्यक पर्ने वित्तीय तथा व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने विषयमा समेत छलफल भएको छ।  उक्त बैठकमा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव चिरञ्जीवी चटौत, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, लगायतको सहभागिता रहेको थियो।