काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त २२ वटा सहकारी मध्ये १५ वटा सहकारीका बचतकर्ताको बचत रकम फिर्ता गर्ने भएको छ ।
कार्यालयले कार्तिक १३ गते मंगलवार दिउँसो ३ बजे समस्याग्रस्त सहकारीको कार्यालय परिसरमै एक कार्यक्रम गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री बलराम अधिकारीको उपस्थितिमा बचतकर्ताको मागदाबी बराबरको बचत फिर्ता तथा हिसाब मिलान गर्ने भएको ।
हाल समस्याग्रस्त सहकारी संस्थाको सूचिमा रहेका २२ वटा सहकारीमध्येमा १५ वटा सहकारीको मात्रै दाबी बचत रकम फिर्ता हुने भएको छ । उच्च स्रोतका अनुसार सहकारी बचत रकम फिर्ता नदिने सहकारीमा पशुपती सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।
स्रोतले दिएको सूचना अनुसार तिहारको समयमा बचतकर्तालाई थोरैभएपनी राहत मिलोस् भन्ने अपेक्षा राखेर समितिले १ लाख भन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न लागेको जनाएको छ । बाकी ७ वटा उल्लेखित समस्याग्रस्त सहकारीको बचत रकम समेत तिहार लगत्तै फिर्ता दिने गरी समितिले काम गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको भनाई छ ।
समितिले सहकारीको रकम अपचलन भएको मात्रै समाचार बाहिरिने गरेको भएपनी मिलान र फिर्ता गर्ने काम समेत नियमित रुममा भइरहेको कारण बचतकर्ताले समितिको काम माथि विश्वास बढाउन आवश्यक रहेको जनाएको छ ।
समितिका एक जना सदस्यले आर्थिक भ्वाइससँगको कुराकानीमा भने ”तिहारपछि समस्याग्रस्त २२ वटै सहकारीका बचतकर्ताको जे जति हुन्छ त्यो रकम फिर्ता गर्ने भन्ने विषय पनि उठेको थियो तर त्यो हामीले स्वीकार गरेनौ चार्डपर्व मुखैमा आएको छ, हामीले बचतकर्ताको थोरै भएपनी रकम फिर्ता गर्न सक्यौ भने उहाँहरूको घरमा खुशी आउँछ निराशा थोरै भएनी कम हुन्छ भन्ने लागेर हामीले अगाडि नै दिने बल जोड गर्यौ त्यसको परिणाम स्वरूप भोली १५ वटा बचतकर्ताले धेरथोर जति नै होस् कम्तीमा चार्ड पर्वको मुखमा रकम पाउनुहुदैछ ।”
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा जहिल्यै सानो रकम बचतकर्तालाई राख्ने गरेको उनको जानकारी दिएका छन् । ‘ठूला रकम बचतकर्ताको अन्य विकल्पहरू पनि हुन्छन् तर साना बचतकर्ताको अन्यत्र पनि धेरै विकल्प हुने भन्ने हुँदैन त्यसकारण हाम्रो प्राथमिकतामा सानो बचतकर्ता नै पर्नुहुन्छ यो पटक रकम पाउनेमा सबै १ लाख भन्दा कम बचत गरेका बचतकर्ता छन् तिहार लगत्तै हामी समस्याग्रस्त सबै सहकारीका बचतकर्ताको बचत रकम फिर्ता गर्ने गरी कामको गति बढाएका छौ उनले थप स्पष्ट पार्दै भने।’
हाल नेपाल सरकारबाट घोषित समस्याग्रस्त सहकारीहरु निम्नानुसार रहेका छन् ।
| क्र.सं. | समस्याग्रस्त सहकारी संस्था | घोषित मिति | मागदावी रकम | दावीकर्ता संख्या |
| 1 | कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड | 2075-03-18 | 5763467 | 10 |
| 2 | स्ट्याण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ लिमिटेड | 2075-03-18 | 7528824 | 16 |
| 3 | स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड | 2075-03-18 | 110893828 | 175 |
| 4 | प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ लिमिटेड | 2075-03-18 | 487398913 | 352 |
| 5 | सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड | 2075-11-19 | 108741243 | 240 |
| 6 | प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड | 2075-03-18 | 132089927 | 138 |
| 7 | चार्टड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड | 2075-03-18 | 8411494 | 14 |
| 8 | लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लि | 2076-04-12 | 117444026 | 214 |
| 9 | ओरेण्टल को-अपरेटिभ लिमिटेड | 2079-06-07 | 3195022862 | 4259 |
| 10 | कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड | 2075-03-18 | 43478252 | 56 |
| 11 | कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड | 2075-03-18 | 24171899 | 51 |
| 12 | भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड | 2075-03-18 | 16544711 | 17 |
| 13 | पशुपती सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड | 2080-04-01 | 1114803618 | 1042 |
| 14 | तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड | 2080-05-25 | 1558161031 | 5443 |
| 15 | शिवशिखर बहुउद्धेशिय सहकारी संस्था लिमिटेड | 2080-05-25 | 9493222896 | 32613 |
| 16 | हाम्रो नयाँ कृषी सहकारी संस्था लिमिटेड | 2080-10-11 | 77790198 | 50 |
| 17 | कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड | 2080-10-26 | 2822787793 | 2531 |
| 18 | कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड | 2080-11-03 | 6785105454 | 6165 |
| 19 | श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड | 2080-11-29 | 7170275984 | 4528 |
| 20 | गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड | 2080-12-13 | 3010045360 | 1673 |
| 21 | गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड | 2081-03-06 | 3234845038 | 2594 |
| 22 | नेपाल सहकारी वित्तीय संस्था लि. | 2081-04-08 | 411139892 | 579 |
| कुल | 39935666710 | 62760 |







