काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता बढेसँगै केन्द्रीय बैंकले सय अर्ब तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज (कात्तिक २१ गते) २१ दिन अवधिका लागि एक सय अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो ।

बैंकले आज २ बजे बोलकबोल गर्ने जनाएको छ । यो २१ दिने निक्षेप संकलन उपकरणको मङ्सिर १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् । कात्तिक लागेसँगै केन्द्रीय बैंकले तेस्रो पटक तरलता खिच्न लागेको हो ।