काठमाडौँ। बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै निक्षेप र कर्जा दुवैको ब्याजदरमा निरन्तर कमी आएको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा अल्पकालीन ब्याजदरलगायत बैंक तथा वित्तीय संस्थाहरूको आधार दर तथा निक्षेप र कर्जाका ब्याजदर समेत घटेको हो ।

तरलता सहज भएसँगै सञ्चालन लक्ष्यको रूपमा रहेको बैंक तथा वित्तीय संस्थाहरूबिचको भारित औसत अन्तरबैंक दर २०८० माघमा ३ दशमलव ०.४ प्रतिशत रहेकोमा २०८१ माघमा तीन प्रतिशत कायम रहेको छ । आर्थिक वर्ष २०८१/८२ को सात महिनासम्ममा निक्षेप सङ्कलन बोलकबोलमार्फत १८ खर्ब नौ अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत एक सय ३० खर्ब ५२ अर्ब गरी कुल एक सय ४८ खर्ब ६१ अर्ब ५५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन भएको छ ।

राष्ट्र बैंककको तथ्यांक अनुसार यस अवधिमा ओभरनाइट तरलता सुविधामार्फत दुई अर्ब ७० करोड तरलता प्रवाह हुँदा एक सय ४८ खर्ब ५८ अर्ब ८५ करोड (कारोबारमा आधारित) खुद तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधामार्फत तरलता प्रवाह र निक्षेप सङ्कलन बोलकबोलमार्फत तरलता प्रशोचन हुँदा २७ अर्ब ९४ करोड खुद तरलता प्रशोचन भएको थियो ।

चालू आर्थिक वर्ष २०८१/८२ को सात महिनासम्ममा राष्ट्र बैंकबाट दुई अर्ब ८७ करोड अमेरिकी डलर खरिदमार्फत तीन खर्ब ८७ अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब १९ करोड अमेरिकी डलर खरिदमार्फत चार खर्ब २४ अर्ब खुद तरलता प्रवाह भएको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ दुई खर्ब ६५ अर्ब ५६ करोड थप कर्जा प्रवाह भएको छ ।

२०८० पुसमा नौ दशमलव ३५ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार दर २०८१ पुसमा छ दशमलव ६५ प्रतिशत कायम भएको छ । त्यसैगरी, २०८० पुसमा सात दशमलव ३२ प्रतिशत रहेको वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर २०८१ पुसमा चार दशमलव ७५ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात २०८० पुसमा तीन दशमलव ७३ प्रतिशत रहेकोमा २०८१ पुसमा चार दशमलव ९२ प्रतिशत पुगेको छ । २०८१ पुसमा वाणिज्य बैंकको चार दशमलव ७३ प्रतिशत, विकास बैंकको पाँच दशमलव ११ प्रतिशत र फाइनान्स कम्पनीको १२ दशमलव ८५ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको छ ।