काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोजसम्म) मा विदेश पढ्न जाने विद्यार्थी मार्फत ३२ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको सोही अवधिका विद्यार्थीहरू अध्ययनका लागि विदेश जाँदा ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको थियो । अध्ययनका लागि विदेशिने रकम गत वर्षको भन्द यस वर्ष ७३ करोड रुपैयाँ घटेको हो ।
राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार यो तीन महिना (साउन, भदौ र असोज) मा नेपालीहरूले विदेश जाँदा ५१ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ भने विदेशीहरू नेपाल आउँदा १७ अर्ब १३ करोड रुपैयाँ भित्रिएको छ । त्यस्तै, उपचारको लागि ९ करोड ४७ लाख बाहिरिएको छ भने अन्य काममा सात अर्ब २६ करोड रुपैयाँ नेपालबाट बाहिरिएको छ।
नेपालबाट अस्ट्रेलिया, जापान, कोरिया, डेनमार्क, इजरायल, ओमान, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया, श्रीलंका, इजिप्ट, रसिया, दुबई, स्पेन, सिंगापुर, टर्की, फ्रान्स, बंगलादेश, फिलिपिन्स, पाकिस्तान, पोल्यान्ड, रोमानिया लगायत ५६ राष्ट्रमा अध्ययनका लागि विद्यार्थीले अनुमति पत्र लिने गरेका छन्।
राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा बढी विद्यार्थी जापान जाने गरेका छन्। त्यसपछि यूके (बेलायत) , संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ।







