काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका छन् । महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० मथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्ताे बताएका हुन् ।

मन्त्री डा महतले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएको उल्लेख गर्दै साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने स्पष्ट गरे । उनले गरिब तथा साना किसानका उत्पादनलाई प्रोत्साहन गर्न तरकारी र फलफूलमा आयात कम गर्दै जाने तथा स्वदेशी उत्पादनलाई प्रश्रय दिने नीति लिएको उल्लेख गरे ।

मन्त्री डा महतले विभिन्न नाममा विदेश जाने नेपाली पर्यटकलाई करको प्रबन्ध गरी स्वदेशभित्रको पर्यटन वृद्धि हुने वातावरण सिर्जना गर्ने सोच बजेटमा राखिएको स्पष्ट पारे ।