काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र गतिशील यात्रामा रहेको बताएका छन् । अर्थमन्त्रीले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरिरहेको बताएका छन्।
आज शुक्रवारका दिन नेपाली काँग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले नेपालमा सूचना प्रविधि, पर्यटन र जलविद्युतमा अथाह सम्भावना रहेको बताउँदै रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।
अर्थमन्त्री महतले वर्तमान सरकारले अर्थतन्त्रलाई लयमा फर्काउन भरपुर प्रयासरत रहेको जनाएका छन् । साथै अर्थतन्त्रले समेत लय छोपेको सूचकले देखाएको बताएका छन् ।
“म सरकारमा आउँदा आठ प्रतिशत मूल्यवृद्धि थियो, ब्याजदर १६ प्रतिशत थियो, अधिकांश लगानी जग्गा र शेयरमा गरेकाले प्रतिफल नआउँदा समस्या भयो, आर्थिक सुनिश्चितता नहुँदै धेरै योजना ल्याएका थिए, सहकारीलाई लुट्ने माध्यम बनाउन थालिएको थियो”, उनले भने, “तर अहिले ब्याजदर एक अङ्कमा ल्याउन थालिएको छ, अहिले आर्थिक वृद्धिदर बढ्न थालेको छ, रातारात आर्थिक सुधार नहुने भएकाले अर्थतन्त्रले बिस्तारै लय छोपेको छ ।”
वर्तमान सरकार आर्थिक दायित्व भुक्तानी गर्दागर्दै अहिलेको सरकार हैरान परेको महतले बताए । अहिलेको सरकारले तीन करोड भन्दा तलको योजना केन्द्र सरकारले नगरेर प्रदेश सरकारमा पठाउने महतको भनाई छ ।
अघिल्लो सरकारले हचुवाका भरमा धेरै योजना ल्याउँदा दायित्व भुक्तानी गर्न असहज भएको उनको आरोप छ । नेपाली काँग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले भावनाले राजनीति नचल्ने भन्दै राजनीतिक पार्टी भनेको सरकार चलाउने र समृद्धि ल्याउने गरी स्थापना भएको बताए।








