काठमाडौं । आजको युग प्रतिस्पर्धाको युग हो । यहाँ थोरै कुराहरू प्राप्त गर्नका लागि पनि धेरै प्रतिस्पर्धा, मिहेनत गर्नुपर्छ । त्यस पछि मात्र सफलता हात पार्न सकिन्छ । यसका साथै जुनसुकै काम गर्नको लागि पनि त्यसको बारेमा गहिराई सम्म गएर बुझ्ने कोसिस गर्नुपर्छ । तब मात्र जीवनमा सफल हुन सकिन्छ भन्ने मान्यता राख्नुपर्छ ।

कुनै पनि काममा सफलता प्राप्त गर्नको लागि व्यक्तिगत रुचिका साथै कामको बारेमा गहिराइसम्म नै पुगी बुझ्नुपर्छ भन्ने मान्यता राख्छिन् भक्तपुरकी लिला अधिकारी । भक्तपुरको सल्लाघारीमा आफ्नो परिवारसँगै बसेर नेपाल लाइफको बीमा अभिकर्ताको रूपमा काम गरिरहेकी अधिकारीलाई बिहे गरिसक्दा सम्म पनि बीमाको बारेमा खासै जानकारी पनि थिएन ।

नेपालको पुवी जिल्ला झापामा जन्मिएकी अधिकारीले झापाकै गौरा दह माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरी काठमाडौं आएर मास्टर्स सम्मको अध्ययन पुरा गरिसकेकी छिन् । देशभित्रका विभिन्न एनजिओ तथा आइएनजीओमा काम गरिरहेकी अधिकारीलाई सल्लाघारीमा बस्दै गर्दा उनकी घर बेटीले उनलाई अभिकर्ता बनेर काम गर्न सुझाव दिएकी थिइन् । अभिकर्ता वनेको एक वर्षसम्म पनि आफूले यो काम गर्छु भनेर पनि नसोचेको उनले आर्थिक भ्वाइससँगको कुराकानी क्रममा सुनाइन् ।

‘म बिहे गरेर काठमाडौं भाडाको कोठामा बस्थे । त्यहीँ वेला समिता गौतम भन्ने हाम्री घरबेटी दिदीले मलाई अभिकर्ता बनेर काम गर्न सुझाव दिएकी थिइन् । तर अभिकर्ता बनिसकेको करिब करिब १ वर्षसम्म त मैले काम नै गरेको थिएन । पछि अरूहरूले यो क्षेत्रमा राम्रो काम गरिरहेको सुन्दै गएपछि मैले बीमा अभिकर्ता पेसाको बारेमा धेरै अध्ययन गरे । र यस क्षेत्रमा काम गर्छु भन्ने लाग्यो ।’ उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा सुनाइन् ।

यसका साथै बीमा अभिकर्ता क्षेत्रमा लागेर सफल भएका अन्य साथीहरूबाट पनि आफू प्रेरित भएको उनी सुनाउँछिन् । मेट लाइफ इन्स्योरेन्सको नक्साल शाखाबाट अभिकर्ता पेसामा जोडिएकी अधिकारी २०६७ सालमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भक्तपुरको गठ्ठाघरमा शाखा खुलेपछि त्यहाँ जोडिएकी थिइन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सामान्य अभिकर्ताको रूपबाट काम सुरु गरेकी अधिकारी अहिले कम्पनीको गठ्ठाघर शाखामा सिनियर एजेन्सी म्यानेजरको रूपमा काम गरिरहेकी छिन् ।

यस पेसामा हुने कमाइबाट पनि आफू पूर्ण रूपमा सन्तुष्ट रहेको उनी बताउछिन् । उनले यो पेसामा काम गर्दैगर्दा धेरै सम्मान तथा पुरुस्कारहरु समेत प्राप्त गरिसकेकी छन् । उनी सन् २०२१ देखि २०२४ सम्म लगातार ४ वर्षसम्म अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्थाको सदस्य हुन समेत सफल भएकी छिन् । भने सन् २०२५ को लागि पनि उनी छनोट भइसकेकी छिन् ।

यस्तै नेपाल लाइफमा जोडिएदेखी नै उनले हरेक वर्ष ‘लिडरसिप एक्सलेन्स अवार्ड’ प्राप्त गर्ने गरेकी छिन् । यस्तै उनलाइ कम्पनीले नेपाल लाइफको बागमती प्रदेश प्रथम अभिकर्ताको रुपमा समेत सम्मान गरेको छ । योसँगै उनी कम्पनीको तर्फबाट सिंगापुर, मलेसियादेखी थाईल्याण्ड सम्मको भ्रमणमा समेत गइसकेकी छिन् ।

उनले पछिल्लो समय आफ्नो श्रीमान् र छोरालाई समेत यो पेसामा आबद्ध गराएकी छिन् । उनीहरूले पनि कम्पनीमा जोडिएदेखी नै ‘लिडरसिप एक्सलेन्स अवार्ड’ प्राप्त गरिरहेका छन् । यस्तै कम्पनीले उनलाई सम्राट् को उपाधि समेत प्रदान गरेको छ ।

अभिकर्ता बनेर काम गर्दै गर्दा आफूले धेरै मिहिनेत गर्नुपरेको उनी बताउँछिन् । यस क्षेत्रमा काम गर्दै गर्दा घरपरिवारबाट पनि राम्रो सहयोग पाएको उनले हामीसँगको कुराकानीको क्रममा सुनाए । घरपरिवार तथा सासुससुराहरुले आफूलाई सहयोग नगरेको भए आफू आज यो ठाउँमा हुन सायदै सम्भव हुने उनको भनाई छ । ‘मलाई यो क्षेत्रमा काम गर्दै गर्दा सबैले राम्रो सहयोग गरेका छन् । साथीभाइहरूबाट पनि धेरै राम्रो सर्पोट पाएको छु । मेरो श्रीमान, सासुससुरा र दुई जना छोराछोरीले साथ नदिएको भए आज म यो ठाउँमा सायदै हुन्थे होला ।’

कुनै पनि मानिस सफल हुनका लागि एकदम दत्तचित्त भएर लाग्नुपर्ने उनी बताउँछिन् । काम गर्दा धेरै अप्ठ्यारा तथा बाधाहरू पनि आउन सक्ने भन्दै त्यस्ता तत्त्वहरूसँग लड्न सक्नुपर्ने उनको भनाई छ । अझ नेपाली समाजमा त अझै पनि महिलाहरूलाई खुलेर काम गर्न समस्या नै रहेको उनको अनुभव छ ।

‘सुरुसुरुमा काम गर्न मलाई पनि निकै असहज भएको थियो । काम गरेर साँझ अबेर फर्किदा पनि गाह्रो नै हुने । अनि अरू मान्छेहरूसँग बसेर चिया कफी खादा नि अरूले के सोच्छन् भन्ने डर मनमा लाग्थ्यो । तर जब यो पेसामा चिनिँदै गए, करियर बन्दै गयो त्यसपछि भने काम गर्न सजिलो भएको छ ।’ उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा सुनाइन् ।

तर राम्रो काम गरिरहेको मान्छेले सानातिना कुराहरूसँग हार मान्न नपर्ने सुझाव उनको छ । सकारात्मक सोच लिएर सही बाटोमा हिँडिरहेको मान्छेले कुनैपनी कुराहरूसँग डराउन नहुने उनी बताउँछिन् । आफूमा आत्मविश्वास राखेर मिहेनत गरेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालकै बलियो आर्थिक अवस्था भएको कम्पनी भएको उनको भनाई छ । यस्तै नेपाल लाइफमा बीमितले पाउने वोनसदर पनि अरू कम्पनीहरूको भन्दा राम्रो भएको उनी बताउँछिन् । आफूलाई नपाल लाइफमा काम गर्दा गर्व लाग्ने गरेको उनी बताउँछिन् ।

अहिलेका युवाहरू धेरै मिहेनत र लगानी गरेर थोरै पैसा कमाउनको लागि विदेश जाने गरिरहेको देख्दा आफुलाई अचम्म लाग्ने गरेको उनी बताउँछिन् ।  ‘पैसा भन्ने कुरा त हाम्रो वरिपरि हावामा नै उडिरहेको छ जस्तो मलाई लाग्छ । बस्, कसरी समात्ने भन्ने कुरा मात्र हो । मिहिनेत र लगनशील इमानदार भएर काम गर्नुपर्छ, सफलता प्राप्त गर्न सकिन्छ ।’आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा उनले भनिन् ।