काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालू आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट १५ खर्ब चार अर्ब ८० करोडको निक्षेप उठाएको छ ।
राष्ट्रबैंकमा अधिक तरलता थपिनेक्रम नरोकिएपछि ४० पटक गरी उल्लेख रकम बराबरको निक्षेप उठाइएको हो । यस्तो निक्षेपमध्ये फिर्ता भएर अहिले केन्द्रीय बैंकसँग दुई खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ मौज्दात छ ।
अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक हो । यसअन्तर्गत बोलकबोलका आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ । जसबाट तरलता प्रशोचन हुन जान्छ ।
अहिले निक्षेप संकलन दर तीन प्रतिशत कायम छ । केन्द्रीय बैंकले साधारण निक्षेपको ब्याजदर तीन प्रतिशतभन्दा तल जान नदिन आफैँ तीन प्रतिशतमा बढी निक्षेप उठाउँदै आएको छ ।हाल बैंक तथा वित्तीय संस्थाको ३३ अर्ब २५ करोड केन्द्रीय बैंकमा निक्षेप कायम छ ।